सेलिब्रेसन स्कुलमा लोकतन्त्रको उत्सव : निर्वाचित विद्यार्थी नेताहरूले लिए सपथ, विद्यालयमै अनुभूत भयो जिम्मेवार नेतृत्वको अभ्यास
Advertisement 1

काठमाडौं । लोकतान्त्रिक संस्कार, नेतृत्व क्षमता र जिम्मेवारीबोधलाई व्यवहारिक शिक्षासँग जोड्दै आएको सेलिब्रेसन स्कुलमा आज निर्वाचित विद्यार्थी प्रतिनिधिहरूको भव्य सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयस्तरीय अभ्यासात्मक निर्वाचनबाट विजयी भएका स्कुल क्याप्टेन, हाउस क्याप्टेन तथा उप–क्याप्टेनहरूले विधिवत रूपमा पद तथा गोपनीयताको सपथ लिँदै आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

विद्यालय परिसरमा आयोजित कार्यक्रम उत्साह, अनुशासन र नेतृत्वको भावनाले भरिएको देखिन्थ्यो । केही दिनअघि सम्पन्न नमुना निर्वाचनमार्फत निर्वाचित विद्यार्थीहरू आज औपचारिक रूपमा नेतृत्व भूमिकामा प्रवेश गर्दा विद्यालयमा वास्तविक लोकतान्त्रिक अभ्यासको अनुभूति गरिएको थियो। सपथ ग्रहण कार्यक्रम सेलिब्रेसन स्कुलका अप्रेसन म्यानेजर टासी लामाले गराएका थिए।
सपथ ग्रहणपछि निर्वाचित विद्यार्थीहरूले विद्यालयको मर्यादा कायम राख्ने, अनुशासनलाई प्राथमिकता दिने तथा विद्यार्थीहरूको हितमा जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले पनि विद्यालयको यस्तो व्यवहारिक र जीवनोपयोगी अभ्यासको खुलेर प्रशंसा गरेका थिए।
Advertisement 2

विद्यालयले केही दिनअघि आयोजना गरेको अभ्यासात्मक निर्वाचन कार्यक्रममा कक्षा १ देखि १० सम्मका ९२९ विद्यार्थी सहभागी भएका थिए । उम्मेदवारी दर्ता, प्रचारप्रसार, मतदान, मतगणना र अन्तिम नतिजा घोषणासम्मका सम्पूर्ण प्रक्रिया वास्तविक निर्वाचनकै शैलीमा सञ्चालन गरिएको थियो । विद्यालयका अनुसार करिब ९० प्रतिशत मत खसेको थियो, जसले विद्यार्थीहरूमा लोकतन्त्रप्रतिको चासो, जागरूकता र सक्रिय सहभागिता झल्काएको थियो।

कार्यक्रममा बोल्दै अप्रेसन म्यानेजर टासी लामाले लोकतन्त्र केवल मतदान गर्ने प्रक्रिया मात्र नभई जिम्मेवारी, अनुशासन, सहिष्णुता र सहभागिताको संस्कार भएको बताए । उनले विद्यालयस्तरमै यस्ता व्यवहारिक अभ्यासले विद्यार्थीहरूलाई भविष्यका सक्षम नेतृत्वकर्ता र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
उनले भने,
“आजको सपथ ग्रहण केवल एउटा औपचारिकता होइन, यो विद्यार्थीहरूलाई जिम्मेवारीको वास्तविक अर्थ बुझाउने महत्वपूर्ण क्षण हो । नेतृत्व प्राप्त गर्नु ठूलो कुरा हो, तर त्यसलाई इमान्दारिता, अनुशासन र समर्पणका साथ निभाउनु अझ ठूलो चुनौती हो । सेलिब्रेसन स्कुलले विद्यार्थीहरूलाई पुस्तकभित्र सीमित ज्ञान होइन, जीवनमा आवश्यक पर्ने व्यवहारिक सीप सिकाउने प्रयास गरिरहेको छ । आजका विद्यार्थीहरू नै भोलिका नेतृत्वकर्ता भएकाले उनीहरूमा आत्मविश्वास, जिम्मेवारी र लोकतान्त्रिक संस्कार विकास गर्नु समयको आवश्यकता हो ।”
Advertisement 3

टासी लामाले नेपालको शिक्षा प्रणाली अझै पनि धेरै हदसम्म घोकन्ते अभ्यासमा केन्द्रित रहेको उल्लेख गर्दै व्यवहारिक, सहभागितामूलक तथा जीवनोपयोगी शिक्षण प्रणालीलाई विद्यालयले प्राथमिकता दिँदै आएको बताए । उनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई केवल नेतृत्व सिकाउने मात्र नभई सहकार्य, सम्मान, निर्णय क्षमता र सामाजिक उत्तरदायित्वबारे पनि सचेत बनाउँछ।
कार्यक्रममा सेलिब्रेसन को–एडका संस्थापक आचार्य महेन्द्रश्री बसिष्ठ, सेलिब्रेसन सेकेन्डरी स्कुलका कोर्डिनेटर बिकास अर्याल लगायत शिक्षकहरूको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षकहरूले निर्वाचित विद्यार्थीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै जिम्मेवार, अनुशासित र प्रेरणादायी नेतृत्व प्रस्तुत गर्न आग्रह गरेका थिए।

कोर्डिनेटर बिकास अर्यालले विद्यालय भनेको केवल परीक्षा पास गर्ने थलो नभई जीवन सिक्ने पाठशाला भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको व्यक्तित्व विकासमा गहिरो प्रभाव पार्ने बताए। उनले नेतृत्व, सहकार्य, अनुशासन र लोकतान्त्रिक मूल्य विकास गर्न विद्यालयस्तरबाटै व्यवहारिक अभ्यास आवश्यक रहेको धारणा व्यक्त गरे।
सपथ ग्रहण कार्यक्रममा सहभागी विद्यार्थीहरू पनि निकै उत्साहित देखिएका थिए । कतिपयले पहिलोपटक नेतृत्व भूमिकामा पुगेको अनुभव बाँडे भने अन्य विद्यार्थीहरूले आफ्ना साथीहरूलाई जिम्मेवारीपूर्ण भूमिकामा देख्दा प्रेरणा मिलेको बताएका थिए।
पछिल्लो समय सेलिब्रेसन स्कुलले व्यवहारिक, प्रविधिमैत्री तथा सहभागितामूलक शिक्षण प्रणालीलाई विशेष प्राथमिकता दिँदै आएको छ । विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास तथा जीवनोपयोगी शिक्षासँग सम्बन्धित विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

विद्यालयले आयोजना गरेको यस सपथ ग्रहण कार्यक्रमले लोकतन्त्रको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्दै विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन तथा जिम्मेवारीबोध विकास गर्ने सशक्त सन्देश दिएको छ । व्यवहारिक शिक्षामार्फत सक्षम, सचेत र जिम्मेवार नागरिक निर्माणतर्फ विद्यालयले चालेको यो कदम अभिभावक तथा शैक्षिक क्षेत्रका लागि समेत प्रेरणादायी बनेको छ।



प्रतिक्रिया दिनुहोस्