२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

लेखन प्रतिभालाई राष्ट्रिय मञ्च : रिलायन्सको निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थी पुरस्कृत

६ दिन अगाडि

सिर्जनशील प्रतिभाको सम्मान : रिलायन्सद्वारा विजेता विद्यार्थीलाई छात्रवृत्ति सहित पुरस्कार

Advertisement 1


काठमाडौं । चाबहिलस्थित रिलायन्स कलेजले आयोजना गरेको छैटौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई भव्य समारोहबीच पुरस्कृत गरेको छ। बुधबार कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा देशभरिका उत्कृष्ट प्रतिभाशाली विद्यार्थीहरूलाई नगद पुरस्कार, छात्रवृत्ति तथा सम्मानपत्र प्रदान गरिएको हो।
यस वर्ष प्रतियोगितामा सातै प्रदेशका ३७ जिल्लाबाट ४८७ वटा निबन्ध प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई छनोट गरी प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्रदान गरिएको कलेजले जनाएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विभिन्न विद्यालयका प्रतिनिधि तथा रिलायन्स एजुकेसन नेटवर्कका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा काठमाडौंको कान्ति भैरव सेकेण्डरी स्कुलका विद्यार्थी अनुपम भण्डारी प्रथम भएका छन्। उनले नगद १५ हजार रुपैयाँसहित रिलायन्स कलेजमा कक्षा ११ अध्ययनका लागि शतप्रतिशत भर्ना तथा ट्युसन शुल्क छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसैगरी ललितपुरस्थित न्यू क्यासल स्कुलकी विजया लक्ष्मी शर्मा दोस्रो हुँदै नगद १० हजार रुपैयाँसहित निःशुल्क भर्ना तथा ९ महिनाको ट्युसन शुल्क छुट प्राप्त गर्न सफल भइन्।
सिन्धुपाल्चोकको तेर्से सेकेण्डरी स्कुलकी राधिका जोति तेस्रो स्थान हासिल गर्दै नगद ६ हजार रुपैयाँसहित कक्षा ११ मा निःशुल्क भर्ना तथा ६ महिनाको ट्युसन शुल्क छुट प्राप्त गर्न सफल भइन्। साथै सान्त्वना पुरस्कार प्राप्त गर्ने १० जना विद्यार्थीलाई पनि रिलायन्समा अध्ययनका लागि भर्नामा ५० प्रतिशत र दुई महिनाको ट्युसन शुल्क छुट प्रदान गरिएको थियो।
पुरस्कार ग्रहणपछि प्रथम स्थान प्राप्त गरेका अनुपम भण्डारीले प्रतियोगिताले आफूलाई थप आत्मविश्वासी बनाएको बताए। उनले यस्ता सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे।
कार्यक्रममा बोल्दै रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्य तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले रिलायन्सले केवल शैक्षिक उपलब्धिमा मात्र नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा पनि जोड दिँदै आएको बताए। “पढाइसँगै नेतृत्व, सीप र प्रतिभा विकासका लागि अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकता दिइएको छ,” उनले भने।
कार्यक्रमको समापन गर्दै कलेजका प्राचार्य रविन्द्र जंग थापाले राष्ट्रिय स्तरका यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा लेखन क्षमता, विश्लेषणात्मक सोच तथा सिर्जनशीलता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। आगामी वर्षहरूमा यस्ता कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने उनको प्रतिबद्धता थियो।
चाबहिल क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित रिलायन्स इन्टरनेसनल एकेडेमीले हाल कक्षा ११ का लागि नयाँ भर्ना पनि खुला गरेको छ। कलेजले विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा अध्यापन गराउँदै आएको छ भने यस वर्षदेखि सीए अध्ययन पनि सुरु गरेको जनाएको छ। स्नातक तहमा बीए, बीबीएस र बीसीए तथा स्नातकोत्तर तहमा एमबीएस कार्यक्रम सञ्चालन हुँदै आएको कलेजले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार