विद्यार्थी नेतृत्व छनोटका लागि सम्पन्न निर्वाचन, भोलि अन्तिम नतिजा सार्वजनिक हुने
Advertisement 1

काठमाडौँ । गोकर्णेश्वर लाइट एकेडेमीमा विद्यार्थीहरूको नेतृत्व विकास तथा लोकतान्त्रिक संस्कार अभिवृद्धि गर्ने उद्देश्यले आयोजित संसदीय अभ्यासअन्तर्गतको विद्यार्थी निर्वाचन कार्यक्रम उत्साहपूर्ण तथा भव्य वातावरणमा सम्पन्न भएको छ। विद्यालय परिसर दिनभर चुनावी माहोलले भरिएको थियो भने विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
निर्वाचन कार्यक्रमपश्चात् विद्यालयले प्रारम्भिक मतगणना सुरु गरेको जनाएको छ। अन्तिम मत परिणाम भने भोलिसम्म सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
विशेष समारोहलाई सम्बोधन गर्दै विद्यालय इन्चार्ज मधुसूदन ढुङ्गानाले विद्यार्थीहरूलाई शुभकामना तथा बधाई व्यक्त गर्दै भन्नुभयो, “विद्यालय केवल पाठ्यपुस्तकमा सीमित हुँदैन। यस्ता अभ्यासले विद्यार्थीलाई भविष्यको जिम्मेवार नागरिक र सक्षम नेतृत्वका रूपमा तयार पार्छ। आजको सहभागिताले भोलिको नेतृत्व सुनिश्चित गर्छ।”
त्यस्तै, स्कुल कोअर्डिनेटर सञ्जय खनालले विद्यार्थीहरूको अनुशासित सहभागिताको प्रशंसा गर्दै भन्नुभयो, “विद्यार्थीहरूले देखाएको उत्साह र जिम्मेवारी साँच्चिकै प्रेरणादायी छ। लोकतान्त्रिक अभ्यासलाई व्यवहारमै उतार्ने यो कार्यक्रम विद्यालयको महत्वपूर्ण उपलब्धि हो।”
विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले निर्वाचनलाई सिकाइको महत्वपूर्ण माध्यमको रूपमा व्याख्या गर्दै भन्नुभयो, “नेतृत्व क्षमता, निर्णय गर्ने कला र सहकार्य भावना विकास गर्न यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुन्छन्। विद्यार्थीहरूले आजको अभ्यासबाट जीवनभर उपयोगी अनुभव प्राप्त गरेका छन्।”
कोअर्डिनेटर तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख राज घिमिरेले कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता र आत्मविश्वास वृद्धि गरेको उल्लेख गर्दै भन्नुभयो, “विद्यालयले शिक्षासँगै व्यवहारिक र सामाजिक सीप विकासलाई पनि प्राथमिकता दिएको छ। निर्वाचन कार्यक्रम त्यसैको उत्कृष्ट उदाहरण हो।”
मतदान प्रमुख अधिकृत तथा अतिरिक्त क्रियाकलाप सहायक इन्चार्ज कृष्ण रेग्मीका अनुसार निर्वाचन प्रक्रिया पूर्ण रूपमा शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको हो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूको सहभागिता अत्यन्त उत्साहजनक रह्यो। मतगणना कार्य व्यवस्थित रूपमा अगाडि बढाइएको छ र अन्तिम परिणाम भोलिसम्म सार्वजनिक गरिनेछ।”
विद्यालय परिसरमा देखिएको उत्साह, प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यासले गोकर्णेश्वर लाइट एकेडेमीलाई पुनः एकपटक सिर्जनशील तथा व्यवहारिक शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गरेको छ।



प्रतिक्रिया दिनुहोस्