लोकतान्त्रिक अभ्यासको जीवन्त पाठ : जीवनतारा एकेडेमीमा सम्पन्न भयो विद्यार्थी प्रतिनिधि चुनाव
Advertisement 1

काठमाडौं । विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा लोकतान्त्रिक संस्कारको विकास गराउने उद्देश्यसहित Jeevantara Academy मा विद्यालयस्तरीय विद्यार्थी प्रतिनिधि चुनाव भव्य रूपमा सम्पन्न भएको छ । विद्यालयमा प्रत्येक वर्ष आयोजना गरिने निर्वाचन कार्यक्रमअन्तर्गत यस वर्षको चुनाव पनि मंगलबार, ज्येष्ठ १२ गते उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
विद्यालय परिसरमा सम्पन्न कार्यक्रम झट्ट हेर्दा वास्तविक स्थानीय तह वा संसदीय निर्वाचनजस्तै देखिन्थ्यो । उम्मेदवारी दर्ता, प्रचारप्रसार, मतदान, मतगणना तथा नतिजा घोषणासम्मका सम्पूर्ण प्रक्रिया लोकतान्त्रिक पद्धतिअनुसार व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो । विद्यालयले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक सिकाइतर्फ उन्मुख गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

विद्यालयका अनुसार विभिन्न सदनबाट विद्यालय प्रमुख, उपप्रमुख, सदन प्रमुख तथा उपप्रमुखजस्ता नेतृत्वदायी पदका लागि कुल २७ जना विद्यार्थीहरूले उम्मेदवारी दिएका थिए । ती उम्मेदवारहरूमध्ये प्रतिनिधि छनोट गर्न लोकतान्त्रिक विधिअनुसार निर्वाचन प्रक्रिया सञ्चालन गरिएको हो । चुनावी माहोलका बीच विद्यार्थीहरूले आफ्नो पक्षमा मत माग्दै प्रचारप्रसार गरेका थिए भने अन्य विद्यार्थीहरू मतदाता, स्वयंसेवक तथा निर्वाचन सहयोगीको भूमिकामा सक्रिय देखिएका थिए ।
शिक्षक–शिक्षिकाहरूको अतिरिक्त क्रियाकलाप समूह (ECA Committee) को अग्रसरतामा आयोजित निर्वाचन कार्यक्रम बिहान ११ बजेदेखि सुरु भई दिउँसो २:३० बजेसम्म सञ्चालन गरिएको थियो । मतदान प्रक्रियामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको विद्यालयले जनाएको छ । मतदान केन्द्रमा अनुशासित रूपमा लाइनमा बसेर मतदान गरिरहेका 
Advertisement 2
उत्साहले विद्यालय परिसर नै लोकतान्त्रिक अभ्यासस्थलमा रूपान्तरण भएको अनुभव गराएको थियो । निर्वाचन सम्पन्न भएसँगै दिउँसो २ बजेर ५० मिनेटबाट मतगणना प्रक्रिया सुरु गरिएको थियो । मतगणनाको क्रममा विद्यालय तथा सदनका तत्कालीन विद्यार्थी प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूलाई साक्षी राखेर ECA कमिटीद्वारा पारदर्शी ढंगले मतगणना सम्पन्न गरिएको विद्यालयले जनाएको छ । मतगणनाको प्रक्रियामा समेत विद्यार्थीहरू अत्यन्त उत्सुक र जिम्मेवार देखिएका थिए ।

कार्यक्रमबारे जानकारी दिँदै निर्वाचन अधिकृत सुरेश निरौलाले विद्यार्थी चुनावको मुख्य उद्देश्य विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष रूपमा परिचित गराउनु, नेतृत्व क्षमताको विकास गर्नु तथा मतदाता शिक्षाको व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको बताए । उनले भने, “विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नु, लोकतान्त्रिक पद्धतिप्रति परिचित गराउनु र मतदाता शिक्षाको प्रयोगात्मक अनुभव दिलाउनु नै यस निर्वाचनको मूल उद्देश्य हो । विद्यालयस्तरमै यस्तो अभ्यास हुँदा विद्यार्थीहरूले लोकतन्त्रलाई केवल सैद्धान्तिक रूपमा होइन, व्यवहारिक रूपमा पनि बुझ्ने अवसर पाउँछन् ।”
निरौलाका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, निर्णय क्षमता, सहकार्य, अनुशासन तथा जिम्मेवारीबोधको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ । उनले भविष्यका जिम्मेवार नागरिक निर्माणका लागि विद्यालय तहबाटै लोकतान्त्रिक संस्कारको अभ्यास आवश्यक रहेको उल्लेख गरे ।
विद्यालयले जानकारी दिएअनुसार निर्वाचित प्रतिनिधिहरूको आधिकारिक घोषणा तथा ब्याच वितरण कार्यक्रम बुधबार बिहानको प्रार्थना सभामा आयोजना गरिनेछ । विजयी उम्मेदवारहरूलाई विद्यालय परिवारले विशेष बधाई तथा जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरू पनि अत्यन्त उत्साहित देखिएका थिए । कतिपय विद्यार्थीहरूले पहिलोपटक मतदान गरेको अनुभव सुनाउँदै आफूहरूले लोकतन्त्रको वास्तविक अभ्यास सिक्न पाएको प्रतिक्रिया दिएका थिए । अभिभावक तथा शिक्षाविद्हरूले समेत विद्यालयको यस्तो व्यवहारिक तथा सिर्जनशील प्रयासको प्रशंसा गरेका छन् ।
Advertisement 3

पछिल्लो समय Jeevantara Academy ले व्यवहारिक, सहभागितामूलक तथा जीवनोपयोगी शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको छ । विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै नेतृत्व विकास, सामाजिक चेतना तथा जिम्मेवार नागरिकताको भावना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

शिक्षकहरूका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिकाइलाई दीर्घकालीन र प्रभावकारी बनाउनुका साथै उनीहरूलाई आत्मविश्वासी र सामाजिक रूपमा सचेत बनाउन सहयोग पुग्छ । नेपालको शिक्षा प्रणाली अझै धेरै हदसम्म घोकन्ते अभ्यासमा सीमित रहेको अवस्थामा जीवनतारा एकेडेमीले सञ्चालन गरेको यस्तो लोकतान्त्रिक अभ्यासलाई प्रेरणादायी र उदाहरणीय पहलका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्