लोकतान्त्रिक अभ्यास सिकाउँदै सेलिब्रेसन स्कुल : ९२९ विद्यार्थी सहभागी, विद्यालयमै महसुस गरियो वास्तविक निर्वाचनको अनुभव
Advertisement 1

काठमाडौं । शिक्षालाई केवल पाठ्यपुस्तक र परीक्षामा सीमित नराखी व्यवहारिक जीवनसँग जोड्ने उद्देश्यका साथ अघि बढिरहेको Celebration School ले विद्यालयस्तरीय अभ्यासात्मक निर्वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । लोकतान्त्रिक संस्कार, नेतृत्व विकास र जिम्मेवारीबोधलाई व्यवहारमै उतार्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूलाई वास्तविक निर्वाचनको प्रत्यक्ष अनुभव दिलाएको विद्यालयले जनाएको छ।
विद्यालय परिसरमा सम्पन्न कार्यक्रम झट्ट हेर्दा स्थानीय तह वा संसदीय निर्वाचनजस्तै देखिन्थ्यो । उम्मेदवारी दर्तादेखि प्रचारप्रसार, मतदाता शिक्षा, मतदान, मतगणना र अन्तिम नतिजा घोषणासम्मका सम्पूर्ण प्रक्रिया वास्तविक निर्वाचनकै शैलीमा सञ्चालन गरिएको थियो । विद्यालयले यसलाई केवल अतिरिक्त गतिविधि नभई “जीवन उपयोगी सिकाइ” को महत्वपूर्ण अभ्यासका रूपमा प्रस्तुत गरेको जनाएको छ।
Advertisement 2

कार्यक्रममा कक्षा १ देखि १० सम्मका कुल ९२९ जना विद्यार्थी सहभागी भएका थिए । विद्यालयका अनुसार करिब ९० प्रतिशत मत खसेको थियो, जुन विद्यार्थीहरूको उत्साह, जागरूकता र सहभागिताको उत्कृष्ट उदाहरण बनेको छ । निर्वाचनमा स्कुल क्याप्टेनसहित चार जना हाउस क्याप्टेन पदका लागि प्रतिस्पर्धा भएको थियो । उम्मेदवार विद्यार्थीहरूले आफ्ना योजना, प्रतिबद्धता र नेतृत्व दृष्टिकोण प्रस्तुत गर्दै प्रचारप्रसार गरेका थिए भने अन्य विद्यार्थीहरूले मतदाता, स्वयंसेवक, मतदान अधिकृत, सुरक्षाकर्मी तथा मतगणना टोलीको भूमिका निर्वाह गरेका थिए।

विद्यालय परिसरमा निर्माण गरिएको मतदान केन्द्र, मतपेटिका, मतदाता नामावली, परिचय जाँच प्रक्रिया तथा मतगणनाको शैलीले विद्यार्थीहरूलाई वास्तविक निर्वाचनको झल्को दिएको थियो । कतिपय विद्यार्थीहरू पहिलोपटक मतदान प्रक्रियामा सहभागी हुँदै अत्यन्त उत्साहित देखिन्थे भने केहीले लोकतन्त्रप्रतिको आफ्नो बुझाइ र जिज्ञासा व्यक्त गरेका थिए । विद्यालयले लोकतन्त्रको सैद्धान्तिक ज्ञानलाई प्रत्यक्ष अभ्यासमा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
Advertisement 3

विद्यालय व्यवस्थापनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सहकार्य, अनुशासन, उत्तरदायित्व र निर्णय क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ । विशेषगरी आजको समयमा युवापुस्तालाई लोकतान्त्रिक मूल्य र जिम्मेवार नागरिकताको भावना सिकाउन विद्यालयस्तरबाटै व्यवहारिक अभ्यास आवश्यक रहेको विद्यालयको भनाइ छ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै विद्यालयका म्यानेजर टासी सरले लोकतन्त्र केवल मतदान गर्ने प्रक्रिया मात्र नभई जिम्मेवारी, सहिष्णुता र सहभागिताको संस्कार भएको उल्लेख गरे । उनले विद्यालयमा आयोजित यस्तो अभ्यासले विद्यार्थीहरूलाई भविष्यका जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
उनले भने, “आजका विद्यार्थीहरू नै भोलिका नीति निर्माता, नेतृत्वकर्ता र जिम्मेवार नागरिक हुन् । त्यसैले उनीहरूलाई सानैदेखि लोकतन्त्रको व्यवहारिक अभ्यास गराउनु अत्यन्त आवश्यक छ । पुस्तकमा लोकतन्त्र पढेर मात्र पुग्दैन, त्यसलाई अनुभव गर्न पनि पाउनुपर्छ । सेलिब्रेसन स्कुलले यही सोचका साथ विद्यार्थीहरूलाई वास्तविक निर्वाचनको अनुभूति दिलाउने प्रयास गरेको हो । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ ।”

टासी सरले नेपालको शिक्षा प्रणाली अझै धेरै हदसम्म घोकन्ते अभ्यासमा केन्द्रित रहेको उल्लेख गर्दै व्यवहारिक, सहभागितामूलक र जीवनोपयोगी शिक्षण पद्धति समयको आवश्यकता भएको बताए । उनका अनुसार विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनशील तथा प्रयोगात्मक कार्यक्रमलाई निरन्तरता दिनेछ।

त्यसैगरी, Celebration Secondary Co-Ed का कोर्डिनेटर बिकास अर्यालले लोकतान्त्रिक अभ्यासले विद्यार्थीहरूको व्यक्तित्व विकासमा गहिरो प्रभाव पार्ने बताए । उनले विद्यालयले विद्यार्थीहरूलाई केवल राम्रो अंक ल्याउने होइन, राम्रो नागरिक बन्न सिकाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरेको स्पष्ट पारे।
अर्यालले भने, “विद्यालय भनेको केवल परीक्षा पास गर्ने ठाउँ होइन, जीवन सिक्ने थलो हो । आज विद्यार्थीहरूले निर्वाचनको सम्पूर्ण प्रक्रिया आफैंले अनुभव गरे । यसले उनीहरूलाई नेतृत्व, जिम्मेवारी, निर्णय क्षमता र सहकार्यको वास्तविक महत्व बुझाएको छ । लोकतन्त्रप्रति सम्मान गर्ने संस्कार विद्यालय तहबाटै विकास हुनुपर्छ भन्ने हाम्रो विश्वास हो ।”
उनले विद्यार्थीहरूमा देखिएको उत्साह र सक्रिय सहभागिताले विद्यालय परिवारलाई थप प्रेरित बनाएको बताए । “९० प्रतिशत मत खस्नु आफैंमा विद्यार्थीहरूको चासो र जागरूकताको सकारात्मक संकेत हो,” उनले थपे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरू पनि अत्यन्त उत्साहित देखिएका थिए । कतिपयले आफूले पहिलोपटक मतदान गरेको अनुभव बाँडे भने केहीले प्रचारप्रसार र नेतृत्व प्रस्तुतिको अभ्यासबाट धेरै कुरा सिकेको प्रतिक्रिया दिएका थिए । अभिभावकहरूले समेत विद्यालयको यस्तो अभ्यासात्मक पहलको प्रशंसा गरेका थिए।
पछिल्लो समय Celebration School ले व्यवहारिक, प्रविधिमैत्री तथा सहभागितामूलक शिक्षण प्रणालीलाई विशेष प्राथमिकता दिँदै आएको छ ।

विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विभिन्न सिर्जनात्मक तथा जीवनोपयोगी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता अभ्यासले विद्यार्थीहरूको सिकाइलाई दीर्घकालीन र प्रभावकारी बनाउनुका साथै उनीहरूलाई आत्मविश्वासी र सामाजिक रूपमा जिम्मेवार बनाउन सहयोग पुग्ने विद्यालयको बिश्वास छ । विशेषगरी लोकतान्त्रिक मूल्य, सहअस्तित्व, सम्मान र सहभागिताको भावना विकास गर्न यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने विश्वास गरिएको छ।

विद्यालयले सञ्चालन गरेको यस अभ्यासात्मक निर्वाचन कार्यक्रमले विद्यार्थीहरूमा लोकतन्त्रप्रतिको विश्वास अभिवृद्धि गर्नुका साथै भविष्यमा सक्षम, सचेत र जिम्मेवार नागरिक निर्माणतर्फ महत्वपूर्ण सन्देश दिएको छ । व्यवहारिक शिक्षा र जीवनोपयोगी सीप विकासलाई प्राथमिकता दिँदै आएको विद्यालयको यो प्रयास अभिभावक, शिक्षक तथा शैक्षिक क्षेत्रका लागि समेत प्रेरणादायी बनेको छ।




प्रतिक्रिया दिनुहोस्