एसईईमा उत्कृष्ट सफलता हासिल गरेका चार विद्यार्थीलाई समावेशी हाइट टोल सुधार समितिको सम्मान
Advertisement 1

भक्तपुर । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–४ स्थित समावेशी हाइट क्षेत्रमा सक्रिय रूपमा सामाजिक तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको समावेशी हाइट टोल सुधार समिति ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट सफलता हासिल गरेका चार जना विद्यार्थीलाई सम्मान गरेको छ।
समितिले आयोजना गरेको विशेष कार्यक्रममा कविता पौडेल, आयुषा गिरी, अमिसा तामाङ र मनन के.सीलाई सम्मानपत्रसहित शुभकामना प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय अभिभावक, समाजसेवी तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूको मेहनत, अनुशासन र उत्कृष्ट नतिजाको प्रशंसा गर्दै समितिले उनीहरूको आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेको थियो।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष बलराम कार्कीले विद्यार्थीहरूको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण समाजको गौरवको विषय भएको बताउनुभयो। उहाँले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, आत्मविश्वास र प्रेरणा मिल्ने धारणा व्यक्त गर्दै शिक्षा क्षेत्रमा समुदायको सकारात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यस्तै समितिका सदस्य तथा समाजसेवी सुदिन पुनले शिक्षा समाज परिवर्तनको सबैभन्दा बलियो माध्यम भएको बताउनुभयो। उहाँले “विद्यार्थीहरूको मेहनत र सफलताले आउने पुस्तालाई सकारात्मक सन्देश दिन्छ,” भन्दै सम्मान र प्रोत्साहनले विद्यार्थीहरूलाई भविष्यमा अझ ठूलो लक्ष्य हासिल गर्न प्रेरित गर्ने धारणा राख्नुभयो।
पुनले शिक्षा र सामाजिक चेतनालाई सँगसँगै अगाडि बढाउन समाजको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै समुदायमा सकारात्मक वातावरण निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा थप ऊर्जा र प्रेरणा पैदा गर्ने गर्दछ।
सामाजिक सेवामा सक्रिय समावेशी हाइट टोल सुधार समिति पछिल्लो समय चाँगुनारायण क्षेत्रमा उदाहरणीय सामाजिक संस्थाका रूपमा परिचित बन्दै गएको छ। समितिले सामुदायिक प्रहरी साझेदारीमार्फत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्थानीयवासीका लागि निःशुल्क स्वास्थ्य परीक्षण, सामाजिक सहयोग तथा समुदाय लक्षित विभिन्न गतिविधि पनि गर्दै आएको छ।
कोरोना महामारीका बेला समितिले माक्स तथा सेनिटाइजर वितरण गर्दै नागरिकलाई सचेत बनाउने कार्य गरेको थियो। त्यसैगरी ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर सडक सुरक्षा, अनुशासन र सचेतनाका विषयमा समुदायमा सकारात्मक सन्देश फैलाउँदै आएको छ। सामाजिक सेवा, शिक्षा र जनचेतनामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको समितिको कार्यलाई स्थानीयवासीले प्रशंसनीय र प्रेरणादायी रूपमा लिएका छन्।



प्रतिक्रिया दिनुहोस्