फागुन २१ मा स्याङ्जा–२ बाट शिक्षाविद् तोयानारायण पौडेलको उम्मेदवारी घोषणा
Advertisement 1

स्याङ्जा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्याङ्जा क्षेत्र नम्बर–२ मा शिक्षाविद् तोयानारायण पौडेल ले आगामी फागुन २१ गते औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन्। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय पौडेलले देशमा व्याप्त विकृति, विसङ्गति र नेतृत्वको असफलताविरुद्ध वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिन लागेको बताएका छन्।
पौडेलले हालको परिवर्तनको मूल संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी भएको उल्लेख गर्दै यो पार्टी युवालक्षित, विचारमुखी र व्यवहारमुखी राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको दाबी गरेका छन्। “देशलाई पुरानै शैली र पुरानै अनुहारले अब निकास दिन सक्दैनन्,” उनले भने, “नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी नेतृत्व आजको आवश्यकता हो।”
शिक्षा क्षेत्रमा २८ वर्षभन्दा बढी समय विश्वविद्यालयस्तरमा अध्यापन र अनुसन्धानको अनुभव बोकेका पौडेलले आफ्नो यही अनुभव स्याङ्जा–२ र समग्र मुलुकको सेवा गर्न समर्पित गर्ने संकल्पसहित उम्मेदवारी घोषणा गर्न लागेको बताए। उनका अनुसार शिक्षा, सीप, उत्पादन र आत्मनिर्भरताको बाटोबाट मात्रै देशलाई अगाडि बढाउन सकिन्छ।
स्याङ्जा जिल्ला सम्भावनाले भरिपूर्ण हुँदाहुँदै पनि विकासमा पछि परेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। “यहाँ स्रोत, साधन, जनशक्ति र सम्भावना प्रशस्त छन्, तर कामभन्दा धेरै कुरा मात्रै गर्ने नेतृत्वका कारण स्याङ्जा पछाडि परेको छ,” पौडेलले भने। उनका अनुसार पुराना राजनीतिक दल र तिनका नेतृत्वले वर्षौँसम्म शासन गरे पनि जिल्लालाई दीर्घकालीन निकास दिन सकेनन्।
यही अवस्थालाई बदल्न आफू राजनीतिमा होमिएको बताउँदै पौडेलले भने, “मसँग जे छ, त्यहीँबाट सुरु गर्छु। ठूलो कुरा होइन, ठोस कामबाट देशलाई आत्मनिर्भर बनाउने मेरो प्रमुख उद्देश्य हो।” शिक्षा, कृषि, पर्यटन र स्थानीय उत्पादनलाई जोडेर स्याङ्जालाई आर्थिक रूपमा सबल बनाउने उनको प्रतिबद्धता रहेको छ।
झन्डै तीन दशकको शैक्षिक अनुभव, नीति निर्माणमा देखेको कमजोरी र देशप्रतिको जिम्मेवारीबोधकै कारण उम्मेदवारी घोषणा गर्न लागेको पौडेलको भनाइ छ। उनले स्याङ्जा–२ का मतदातालाई सचेत, जिम्मेवार र परिवर्तनका पक्षधर बनेर नयाँ राजनीतिक संस्कृतिको पक्षमा उभिन आह्वान गरेका छन्।
रास्वपाबाट उम्मेदवारी घोषणा गर्न लागेका पौडेलको प्रवेशले स्याङ्जा–२ को राजनीतिक वातावरण थप चासोपूर्ण बन्ने देखिएको छ। परिवर्तन, पारदर्शिता र जवाफदेहिताको मुद्दा लिएर अघि बढेको रास्वपाले यस निर्वाचनलाई वैकल्पिक राजनीतिक धारको परीक्षा ठानेको छ।



प्रतिक्रिया दिनुहोस्