
काठमाडौं – बागमती प्रदेशका विद्यालयका विद्यार्थीहरूले आफ्नो गायन प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका प्याब्सन स्तरीय एकल गायन प्रतियोगिता आज राजधानी काठमाडौंमा सम्पन्न भयो। प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका प्रतिभावान छात्र-छात्राहरूले उत्कृष्ट गायन प्रस्तुत गर्दै उपस्थित दर्शक र निर्णायकहरूको मन जित्न सफल भए। कार्यक्रमको मुख्य अतिथि बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा हुनुहुन्थ्यो भने प्याब्सन केन्द्रीय उपाध्यक्ष रबिन्स शर्मा र प्याब्सन बागमती प्रदेश सभापति मुरारी संन्जेल विशेष अतिथि रूपमा उपस्थित थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान दिइएको थियो। पुरस्कार परिणाम यस प्रकार रहे: प्रथम स्थान दिक्षा उप्रेती, अक्सिडेन्टल पब्लिक स्कूल, काठमाडौं; दोस्रो स्थान निर्भिक आचार्य, कौस्तुभ एकेडेमी, काठमाडौं; र तेस्रो स्थान ओम कृष प्रसाइ, विद्याबाणी पाठशाला, काठमाडौं। त्यस्तै, कोटदेवी पब्लिक, मोर्डन इङ्लिस स्कूल (भक्तपुर) र बालजाग्रीती इङ्लिस सेकेन्डरी स्कुल (मकवानपुर)का विद्यार्थीहरूले सान्त्वना पुरस्कार प्राप्त गरेर आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाए।
कार्यक्रममा विद्यार्थीहरूले गायनमार्फत आफ्नो कला र सिर्जनात्मक क्षमता प्रस्तुत गरे, जसले शिक्षक, अभिभावक र उपस्थित दर्शकहरूको प्रशंसा बटुलेको थियो। प्याब्सनले यस प्रकारका सांस्कृतिक प्रतियोगिताहरू आयोजना गरेर विद्यार्थीहरूको सृजनशीलता, आत्मविश्वास र प्रतिभा प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। आयोजकहरूले भविष्यमा अझ बढी विद्यार्थीहरूलाई सहभागी गराउने र प्रतियोगिताको स्तर उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्