२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

कागेश्वरी मनोहरामा बागमती खुला तेक्वान्दो लिग सम्पन्न, २ सय २७ खेलाडीको सहभागिता

५ महिना अगाडि

ढल्को तेक्वान्दो डोजाङ टिम च्याम्पियन, बागमती खुला लिगमा प्रभुत्व

Advertisement 1


काठमाडौँ — बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग प्रतियोगितामा ढल्को तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि जितेको छ । आइतबार सम्पन्न दुईदिने प्रतियोगितामा ढल्को डोजाङले ७ स्वर्ण र १ रजत पदक हात पार्दै समग्र रूपमा सबैभन्दा सफल टोली बन्न सफल भयो । जिल्ला समन्वय समिति काठमाडौँको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग तथा कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको यस प्रतियोगिताले प्रदेशस्तरको तेक्वान्दो खेललाई थप उचाइमा पुर्‍याएको आयोजकहरूको भनाइ छ । खेलाडीको आत्मविश्वास, अनुशासन र निरन्तर अभ्यासको प्रतिफलस्वरूप ढल्को डोजाङले प्रतिस्पर्धी टोलीलाई पछि पार्दै ट्रफी उचालेको हो ।


प्रतियोगितामा नुवाकोटको पोखरी तेक्वान्दो डोजाङ दोस्रो स्थानमा रहँदै २ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्न सफल भयो । त्यस्तै, लैनचौर तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र २ कांस्य पदकसहित तेस्रो स्थान हासिल गर्‍यो । कागेश्वरी मनोहरा नगरपालिका हातामा सम्पन्न प्रतियोगितामा प्रदेशका विभिन्न जिल्ला र डोजाङबाट आएका २ सय २७ खेलाडीले २० फरक–फरक स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ ढल्को डोजाङका अर्पण लामा र महिलातर्फ काठमाडौंको वेस्ट डिभिजनकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूको प्रदर्शनले युवा खेलाडीहरूलाई प्रेरणा दिएको खेल विश्लेषकहरूको धारणा छ ।


कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले खेलकुदले अनुशासन, नेतृत्व र राष्ट्रप्रेमको भावना विकास गर्ने बताउँदै नगरपालिकाले खेलकुद पूर्वाधार र प्रतियोगितामा निरन्तर लगानी गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । “तेक्वान्दो जस्तो खेलले युवालाई शारीरिक रूपमा सबल मात्र होइन, मानसिक रूपमा पनि सक्षम बनाउँछ । स्थानीय तहबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यस्ता प्रतियोगितालाई निरन्तरता दिइनेछ,” मेयर कार्कीले भने । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले खेलकुदलाई केवल प्रतिस्पर्धा नभई सामाजिक एकता र सकारात्मक संस्कृतिको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “प्रदेशस्तरका यस्ता लिगले ग्रामीण क्षेत्रका प्रतिभालाई समेत राष्ट्रिय मञ्चसम्म ल्याउन सहयोग पुर्‍याउँछ,” उनले उल्लेख गरे ।


बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले प्रतियोगिताको प्राविधिक पक्ष व्यवस्थित रूपमा सम्पन्न भएको बताउँदै खेलाडीको स्तर विगतको तुलनामा उल्लेखनीय रूपमा उकासिएको दाबी गरे । “युवामा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखिएको छ । अब नियमित लिग र तालिममार्फत खेलाडीलाई दीर्घकालीन योजना अनुसार अघि बढाइनेछ,” पुरीले भने ।

Advertisement 3

कागश्वरी मनोहरा नगरपालिका तेक्वान्दो संघका सचिव विश्वास अर्यालले स्थानीय तहको सक्रियता र सहकार्यकै कारण प्रतियोगिता सफल भएको बताए । “नगरपालिकाको सहयोग र संघ–संस्थाबीचको समन्वयले नै यस्तो ठूलो प्रतियोगिता सम्भव भएको हो,” उनले भने ।

समापन समारोहमा विजेता खेलाडी तथा टोलीलाई मेयर कार्की, प्रमुख बुढाथोकी, अध्यक्ष पुरीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । साथै, कागेश्वरी मनोहरा नगरपालिकाले बागमती प्रदेश तेक्वान्दो संघलाई सहयोगस्वरूप ल्यापटप प्रदान गर्दै खेलकुद प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता पुनः स्पष्ट पारेको थियो ।

धेरै पढिएको

सम्बन्धित समाचार