२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

कागेश्वरी मनोहरामा बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आजबाट सुरु

५ महिना अगाडि

तेक्वान्दोमार्फत खेलकुद कूटनीति सशक्त बन्दै, बागमती प्रदेशस्तरीय खुला लिग कागेश्वरी मनोहरामा

Advertisement 1

काठमाडौं। अन्तर्राष्ट्रिय खेलमञ्चमा नेपाललाई चिनाउने प्रमुख खेलका रूपमा स्थापित तेक्वान्दोलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र परिणाममुखी बनाउने उद्देश्यसहित बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आजबाट कागेश्वरी मनोहरा नगरपालिकामा सुरु भएको छ। खेलाडीको क्षमताको वैज्ञानिक मूल्याङ्कन, वरीयता निर्धारण र दीर्घकालीन तयारीलाई केन्द्रमा राखेर सुरु गरिएको यो लिगले नेपाली तेक्वान्दोको भविष्य निर्माणमा नयाँ आशा जगाएको सरोकारवालाहरूले बताएका छन्।
आजको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, र बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गरे।


उद्घाटन समारोहमा बोल्दै सन्तोष बुढाथोकीले भने, “खेलाडीलाई अवसर, निरन्तर प्रतिस्पर्धा र प्रोत्साहन दिइयो भने अन्तर्राष्ट्रिय मञ्चमा अझ राम्रो नतिजा ल्याउन सकिन्छ। यस्ता नियमित र ठूला प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउनुका साथै राष्ट्र निर्माणमा समेत योगदान पुर्‍याउँछ। तेक्वान्दो नेपाललाई सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पदक दिलाउने खेल भएकाले यसमा गरिएको लगानी राष्ट्रकै गौरवसँग जोडिएको छ।”
कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र कार्कीले स्थानीय तहले खेलकुद प्रवर्द्धनमा सधैँ सकारात्मक भूमिका निर्वाह गरेको बताए। उनले भने, “प्रदेशस्तरीय प्रतियोगिता नगरमै आयोजना हुनु स्थानीय खेलाडीका लागि अवसर मात्र नभई नगरको पहिचान विस्तार गर्ने माध्यमसमेत हो। यसले स्थानीय खेल क्षेत्रलाई मजबुती दिन ठूलो योगदान पुर्‍याउँछ।”


त्यसैगरी केशव पुरीले जिल्ला समन्वय समिति काठमाडौंको खेलकुद क्षेत्रमा देखाएको नेतृत्व र सहकार्यको उच्च प्रशंसा गर्दै तेक्वान्दो मात्र नभई समग्र खेल क्षेत्रको विकासमा देखाइएको प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गरे।
उद्घाटन समारोहमा केन्द्रिय सदस्य प्रेम भण्डारी लगायतलाई उपस्थित अतिथिहरूमार्फत मायाको चिनो प्रदान गरिएको थियो। साथै नगरपालिकाले लिगमा संलग्न एक सेट जुरीलाई चेस्ट गार्ड पनि हस्तान्तरण गरेको थियो।

Advertisement 3


बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको पाँचौं संस्करणमा ४३ समूहका खेलाडीहरू सहभागी छन्। प्रतियोगिता आइतबार सम्पन्न हुने कार्यक्रम तय गरिएको छ। जिल्ला समन्वय समिति काठमाडौंको समन्वय र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको यो लिग वर्षमा चार पटक आयोजना हुने गर्दछ। यस लिगमार्फत खेलाडीको वरीयता निर्धारण गर्ने प्रणाली नेपालमै पहिलो पटक लागू गरिएको छ। आयोजकका अनुसार यो लिगले नेपाली तेक्वान्दोलाई थप संस्थागत, प्रतिस्पर्धी र अन्तर्राष्ट्रियस्तरमा सक्षम बनाउने लक्ष्य लिएको छ।
सरोकारवालाहरूले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगलाई नेपाली खेलकुदको दीर्घकालीन विकास र अन्तर्राष्ट्रिय सफलता सुनिश्चित गर्ने एउटा महत्वपूर्ण पहलका रूपमा मूल्याङ्कन गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार