२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

तेक्वान्दो खेलको उत्सव कागेश्वरी मनोहरामा हुँदै, प्रदेशस्तरीय खुला लिग आयोजना

५ महिना अगाडि

तेक्वान्दोमार्फत खेलकुद कूटनीति सशक्त बन्दै, बागमती प्रदेशस्तरीय खुला लिग कागेश्वरी मनोहरामा

Advertisement 1


काठमाडौं । अन्तर्राष्ट्रिय खेलमञ्चमा नेपाललाई चिनाउने प्रमुख खेलका रूपमा स्थापित तेक्वान्दोलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र परिणाममुखी बनाउने उद्देश्यसहित बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग निरन्तर सञ्चालनमा रहेको छ। खेलाडीको क्षमताको वैज्ञानिक मूल्याङ्कन, वरीयता निर्धारण र दीर्घकालीन तयारीलाई केन्द्रमा राखेर सुरु गरिएको यो लिगले नेपाली तेक्वान्दोको भविष्य निर्माणमा नयाँ आशा जगाएको सरोकारवालाहरूले बताएका छन्।
यही अभियानअन्तर्गत दोस्रो संस्करणको पाँचौं लिग २०८२ साल पौष २६ र २७ गते कागेश्वरी मनोहरा नगरपालिकामा आयोजना हुने भएको छ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले यस्ता नियमित र ठूला प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउनुका साथै राष्ट्र निर्माणमा समेत योगदान पुग्ने बताए। उनले तेक्वान्दो नेपाललाई सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पदक दिलाउने खेल भएकाले यसमा गरिएको लगानी राष्ट्रकै गौरवसँग जोडिएको उल्लेख गरे।


प्रमुख बुढाथोकीले स्थानीय तह, जिल्ला र प्रदेशबीचको सहकार्यबाट मात्र खेलकुदको दीर्घकालीन विकास सम्भव हुने भन्दै बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग त्यसैको उदाहरण भएको बताए। “खेलाडीलाई अवसर, निरन्तर प्रतिस्पर्धा र प्रोत्साहन दिइयो भने अन्तर्राष्ट्रिय मञ्चमा अझ राम्रो नतिजा ल्याउन सकिन्छ,” उनले भने।
कार्यक्रममा बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख बुढाथोकीको खेलकुद क्षेत्रप्रतिको भूमिकाको उच्च प्रशंसा गरे। अध्यक्ष पुरीले राज्यले गर्नुपर्ने धेरै कामहरू प्रमुख बुढाथोकीले अग्रसर भएर गरिरहेको भन्दै तेक्वान्दो मात्र नभई समग्र खेल क्षेत्रको विकासका लागि देखाएको नेतृत्वप्रति धन्यवाद व्यक्त गरे।


पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले स्थानीय तह खेलकुद प्रवर्द्धनमा सधैँ सकारात्मक रहेको बताए। उनले प्रदेशस्तरीय प्रतियोगिता नगरमै आयोजना हुनु स्थानीय खेलाडीका लागि अवसर मात्र नभई नगरको पहिचान विस्तार गर्ने माध्यमसमेत भएको उल्लेख गरे।
त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यस्ता ठूला खेलकुद कार्यक्रमहरूले खेल क्षेत्रमा स्थानीय तहको भूमिकालाई थप सशक्त बनाउने बताए। उनले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगजस्तो महत्वाकांक्षी कार्यक्रम आयोजना गरेकोमा जिल्ला समन्वय समिति काठमाडौंलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।

Advertisement 3


जिल्ला समन्वय समिति काठमाडौंको समन्वय तथा बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग वर्षमा चार पटक आयोजना हुने गर्दछ। लिगमार्फत खेलाडीको वरीयता निर्धारण गरिने व्यवस्था नेपालमै पहिलो पटक लागू गरिएको हो। आयोजकका अनुसार यो लिगले नेपाली तेक्वान्दोलाई थप संस्थागत, प्रतिस्पर्धी र अन्तर्राष्ट्रियस्तरमा सक्षम बनाउने लक्ष्य लिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार