२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

कलंकीमा पावर गेम ताइक्वान्दो भव्य रूपमा सम्पन्न

५ महिना अगाडि

कलंकीमा ‘पावर गेम ताइक्वान्दो’ भव्य रूपमा सम्पन्न, खेलकुदमार्फत युवाशक्ति निर्माणमा सशक्त सन्देश

Advertisement 1


काठमाडौं । राजधानीको कलंकीस्थित अम्ब्रेला इभेन्ट्समा शनिबार पावर गेम ताइक्वान्दो प्रतियोगिता भव्य, अनुशासित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजनामा सम्पन्न प्रतियोगितामा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि तथा ओलम्पियन दीपक बिष्ट विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, नेपाल तेक्वान्दो संघका विभिन्न पदाधिकारी, प्रशिक्षक, खेलप्रेमी तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतियोगिताले राजधानीमा तेक्वान्दो खेलप्रतिको बढ्दो आकर्षणसँगै खेलकुदलाई करिअर र जीवनशैलीका रूपमा अपनाउने युवाको उत्साह स्पष्ट रूपमा देखाएको सहभागीहरूको धारणा थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रकाशमान सिंहले खेलकुद केवल मनोरञ्जनको माध्यम नभई राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “तेक्वान्दोजस्ता अनुशासनयुक्त खेलले युवामा आत्मविश्वास, नेतृत्व क्षमता र नैतिकता विकास गर्छ। यस्ता प्रतियोगिताले खेलाडीलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने सपना देख्न प्रेरित गर्छ।” उहाँले खेलकुद क्षेत्रमा लगानी र निरन्तर कार्यक्रम आवश्यक रहेको भन्दै आयोजकको प्रयास प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।

Advertisement 3


विशेष अतिथि ओलम्पियन दीपक बिष्टले पावर गेम ताइक्वान्दो प्रतियोगिताले नयाँ तथा उदाउँदा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर दिएको बताउनुभयो। “आज देखिएको प्रतिस्पर्धा, जोश र सीपले नेपाली तेक्वान्दोको भविष्य सुरक्षित र उज्यालो देखिन्छ,” उहाँले भन्नुभयो। उहाँले खेलाडी मात्र नभई प्रशिक्षक र अभिभावकको भूमिकालाई पनि महत्वपूर्ण बताउँदै, यस्तो स्तरका प्रतियोगिता निरन्तर आयोजना हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले प्रदेशस्तरबाट खेलकुद प्रवर्द्धनलाई संस्थागत रूपमा अघि बढाइँदै आएको जानकारी दिनुभयो। “युवालाई खेलतर्फ आकर्षित गर्न प्रतिस्पर्धात्मक वातावरण आवश्यक हुन्छ। पावर गेमजस्ता कार्यक्रमले खेलाडी र प्रशिक्षक दुबैको क्षमता अभिवृद्धि गर्छ,” उहाँको भनाइ थियो। उहाँले प्रदेश, संघ–संस्था र स्थानीय तहबीच सहकार्य बढेमा नेपाली खेलकुद अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।


प्रतियोगिताको खेलतर्फ पुरुषतर्फ सुमित बिष्ट प्रथम स्थान हासिल गर्न सफल भए भने महिलातर्फ रक्षा धिमाल ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरिन्। दुबै विजेतालाई नगद ५०/५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, दोश्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई नगद ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। खेलाडीहरूको उच्च स्तरको प्रतिस्पर्धा, शक्ति र प्रविधिले दर्शकहरूलाई निकै रोमाञ्चित बनाएको थियो भने उपस्थित खेलप्रेमीहरूले खेलाडीहरूको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रम आयोजक अल नेपाल स्पोर्ट्स फाउन्डेसन का अध्यक्ष तथा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु सबैको सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो। “हाम्रो लक्ष्य खेलकुदलाई केवल प्रतिस्पर्धासम्म सीमित नराखी युवाको समग्र व्यक्तित्व विकाससँग जोड्नु हो। तेक्वान्दोजस्ता खेलले अनुशासन, आत्मसंयम र संघर्षशीलता सिकाउँछ,” उहाँले भन्नुभयो। उहाँले आगामी दिनमा अझ ठूलो स्तरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई विश्व मञ्चसम्म पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।


प्रतियोगिताको अवसरमा विभिन्न संघ–संस्थाको सहकार्यमा खेलाडी तथा प्रशिक्षकहरूलाई जुत्ता, चस्मा लगायतका आवश्यक खेल सामग्रीसमेत प्रदान गरिएको थियो। यस सहयोगले खेलाडी र प्रशिक्षकहरूको मनोबल उच्च भएको उनीहरूको प्रतिक्रिया थियो। कार्यक्रममा सहभागी संघ–संस्थाका प्रतिनिधिहरूले आयोजकको पारदर्शिता, व्यवस्थापन र खेलकुदप्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गर्दै भविष्यमा समेत सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार