२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

प्रविधि–मैत्री व्यवस्थापनमार्फत संक्रमणकालको अवतरण र रूपान्तरण आवश्यक : मन्त्री भण्डारी

५ महिना अगाडि

प्रविधि–मैत्री व्यवस्थापनमार्फत संक्रमणकाललाई अवतरण र रूपान्तरण गर्न आवश्यक : मन्त्री भण्डारी

पोखरा, १६ पुस — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले प्रविधि–मैत्री व्यवस्थापनमार्फत मुलुकको संक्रमणकालीन अवस्थालाई अवतरण र रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन्।
पोखरा–३० खुदीस्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले खानेपानीको पहिलो उपयोगिताको सिद्धान्त आत्मसात् गर्दै स्मार्ट (प्रविधि–मैत्री) व्यवस्थापनका माध्यमबाट राज्य, संघ–संस्था तथा सेवा प्रदायक निकायहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले मुलुकले १० वर्षे जनयुद्धभन्दा २४ घण्टामै ठूलो क्षति व्यहोर्नुपरेको उदाहरण प्रस्तुत गर्दै द्वन्द्व समाधानदेखि सेवा प्रवाहसम्म नीतिगत रूपमा प्रविधि–मैत्री प्रणाली अपनाउनुपर्नेमा जोड दिए। युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै नवयुवालाई आक्रोश र कुण्ठामा होइन, राष्ट्र निर्माणमा केन्द्रित गर्नुपर्ने बताए। संक्रमण अवस्थालाई सुरक्षित अवतरण गर्दै संरचनागत रूपान्तरणतर्फ लैजानु आजको आवश्यकता भएको उनको भनाइ थियो।
जनताको सर्वोत्तम हित बाहेक सरकारको अर्को कुनै उद्देश्य नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सबैलाई सार्वजनिक हितका पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरे। उनले आफू मन्त्रीको पदावली बाहेक अन्य कुनै कार्यमा संलग्न नरहेको, उक्त संस्थामा पहिलो पटक आएको र भ्रमण नितान्त व्यक्तिगत रहेको स्पष्ट पारे।
खानेपानी क्षेत्रका विद्यमान समस्या समाधानका लागि रणनीतिक तथा नीतिगत रूपमा खानेपानीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले समस्यामा परेका नागरिकको वास्तविक आवश्यकता पहिचान गरी सेवामुखी वर्गीकरणका आधारमा मानवीय र संवेदनशील ढंगले काम गर्न सुझाव दिए।
कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्था पोखरा–३० का अध्यक्ष मुरारी शर्माको सभापतित्व रहेको थियो। शर्माले विभिन्न समयमा मन्त्रीहरूसमक्ष गुनासो राख्दै आएको उल्लेख गर्दै व्यवसायीसरह कर तिर्न बाध्य उपभोक्ता संस्थालाई प्यान तथा भ्याटमा सेवामुखी छुटको व्यवस्था गर्न माग गरे। उनले आम्दानीको २५ प्रतिशत कर तथा कुल महसुलको १ प्रतिशत नेपाल सरकारको राजस्व खातामा जम्मा गर्ने अघिल्लो सरकारको निर्णय पुनरावलोकन गर्नुपर्ने, विद्युत् महसुलमा ५० प्रतिशत छुट कार्यान्वयन हुनुपर्ने तथा टिडिएफबाट १ प्रतिशत ब्याजदरमा ऋण लिएर ७५ प्रतिशत लगानी गरेका खानेपानी उपभोक्ता संस्थालाई ५ प्रतिशत ब्याजदरमा ऋण लगाउने व्यवस्थालगायतका समस्या समाधान गर्न आग्रह गरे।
कार्यक्रममा संस्थाका श्रव्य–दृश्य कार्यालय प्रमुख शिव अमात्यले हराएको पानी पत्ता लगाउने प्रविधि, नेपालमै पहिलो पटक सुरु गरिएको खानेपानी बीमा, स्मार्ट पानी वितरण प्रणाली, अनलाइन भुक्तानी सेवा, मूलदेखि धारासम्म शुद्ध खानेपानी आपूर्ति, जलवायु अनुकूलित वितरण प्रणाली, आधुनिक प्रयोगशालाको स्थापना तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट प्राप्त प्रविधि र मर्मत सहयोगबारे विस्तृत प्रस्तुति दिएका थिए।
कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष पुष्प कलम ढुंगानाले गरेका थिए भने कार्यक्रम सञ्चालन राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालकी कोषाध्यक्ष एवं लेखनाथ खानेपानी उपभोक्ता संस्थाकी सचिव नारायणी भट्टराई (रक्षा) ले गरेकी थिइन्।

धेरै पढिएको

सम्बन्धित समाचार