घर निर्माण फेस्ट २०८२’ आयोजना हुँदै
Advertisement 1

घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोड्ने उद्देश्यका साथ ‘घर निर्माण फेस्ट २०८२’ आयोजना हुन लागेको जानकारी दिन पत्रकार सम्मेलन सम्पन्न भएको छ। घर निर्माण फाउन्डेशनको आयोजनामा हुन लागेको यस फेस्टले घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य लिएको छ।
फेस्टमा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कमाउने घर, आर्किड भिल्ला, ह्वाइट रुम्स, डोम हाउसजस्ता आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिनेछ। यससँगै घर निर्माणसँग सम्बन्धित सामग्री, प्रविधि, डिजाइन, सेवा तथा समाधानहरू समेटिएका १ सय ५० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै समान रूपमा ब्रान्ड प्रस्तुति, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापना तथा उत्पादनलाई व्यवस्थित र आकर्षक ढंगले प्रदर्शन गर्न चुनौती भोगिरहेको सन्दर्भमा सो समस्याको समाधानका रूपमा घर निर्माण फेस्ट आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। प्रदर्शनीमा उपलब्ध विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीहरूले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गसम्म प्रभावकारी रूपमा पुऱ्याउन सक्ने विश्वास लिइएको छ।
प्रदर्शनीमार्फत २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। फेस्टलाई अझ विशेष र ऐतिहासिक बनाउन विश्व कीर्तिमानी ईँटाको प्रदर्शन गरिनेछ भने जास्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठूलो ढाका टोपी प्रदर्शनसमेत आयोजना गरिनेछ। यसले नेपाली कला, संस्कृति र निर्माण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।
युवा पुस्ताको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै फेस्टमा ५० भन्दा बढी कलेजका विद्यार्थी टोलीहरूको सहभागितामा मोडल प्रतियोगिता आयोजना गरिनेछ। यसले विद्यार्थीहरूलाई सिर्जनशीलता, नवप्रवर्तन र प्राविधिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यका इन्जिनियर, आर्किटेक्ट र डिजाइनरहरूलाई व्यवहारिक अनुभव दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।
फेस्टको औपचारिक उद्घाटन १२ गते दिउँसो १२ बजे हुने छ। चार दिनसम्म सञ्चालन हुने फेस्टमा विभिन्न विषयमा आधारित अन्तरक्रियासमेत हुनेछन्। करिब ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टको पहिलो र दोस्रो दिन घर नक्सा तथा राम्रो र बलियो घर विषयमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो दिन ‘जे गर्छु, नेपालमै गर्छु’ विषयक अन्तरक्रिया आयोजना गरिनेछ। अन्तर्क्रिया सत्र जारी रहँदा दैनिक प्रदर्शनी भने निरन्तर सञ्चालन हुनेछ। १५ गते फेस्टको औपचारिक समापन गरिनेछ।
शिवम् सिमेन्ट पावर्ड बाई रहेको घर निर्माण फेस्ट २०८२ मा प्लम्बर पाइप मुख्य सहकार्यकर्ता रहेको छ। त्यसैगरी टाइल पार्टनरका रूपमा नेपोभिट, यूपीभीसी पार्टनरका रूपमा पञ्चकन्या डीम्याक्स, प्रोपर्टी पार्टनरका रूपमा सारा सेवा, सेनेटरी पार्टनरका रूपमा स्वाती इन्टरप्राइजेज रहेका छन्। यस्तै इन्टेरियर पार्टनर सोफाहब, फर्निचर पार्टनर फर्निचर महल तथा पेन्ट पार्टनरका रूपमा एसियन पेन्ट्स रहेका छन्।



प्रतिक्रिया दिनुहोस्