रिलायन्स साहित्य समाजद्वारा आयोजित सोहौँ देवकोटा स्मृति वक्तृत्वकला प्रतियोगितामा निकिसा थापा प्रथम
Advertisement 1

काठमाडौ — रिलायन्स साहित्य समाजद्वारा आयोजित सोहौँ देवकोटा स्मृति राष्ट्रिय अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा गोकर्णेश्वर लाइट एकेडेमीकी छात्रा निकिसा थापा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।
Advertisement 2
थापाले प्रस्तुत गरेको स्पष्ट, प्रभावशाली र विषयमुखी वक्तृत्वले निर्णायकहरूको ध्यान खिचेको थियो। उत्कृष्ट प्रदर्शनको आधारमा उनलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद रु. १०,००० सहित सम्मानित गरिएको आयोजकले जनाएको छ।

Advertisement 3
विद्यालयका प्रिन्सिपल सौर्य आचार्यले निकिसाको सफलताप्रति खुशी व्यक्त गर्दै भने,
“निकिसाले देखाएको समर्पण र तयारी प्रशंसनीय छ। यसले छात्रछात्रालाई उचित मार्गदर्शन र अवसर दिइएमा उनीहरू कति अगाडि बढ्न सक्छन् भन्ने प्रमाणित गरेको छ। विद्यालयलाई गर्व महसुस गराउने यो उपलब्धिले सबैलाई प्रेरित बनाएको छ।”
आयोजक रिलायन्स साहित्य समाजका पदाधिकारीहरूका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, वक्तृत्वकला तथा विश्लेषण क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। समाजले आगामी वर्षहरूमा अझ विस्तारित रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।



प्रतिक्रिया दिनुहोस्