एमाले ११औँ महाधिवेशन प्रक्रिया सिन्धुपाल्चोकमा तीव्र,सहमतिको प्रयास जारी तर आन्तरिक असन्तुष्टि चरम हुँदा चुनावको बलियो संभावना
Advertisement 1

नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया मङ्सिर ९ गतेदेखि देशभर औपचारिक रूपमा प्रारम्भ गरेको छ। महाधिवेशन नजिकिँदै जाँदा पार्टीले सबै तहका कमिटीहरूलाई सकेसम्म सर्वसम्मत रूपमा प्रतिनिधि छान्न निर्देशन गरेको छ। यद्यपि, सहमति नजुटे मङ्सिर १३ गते देशभर एकैदिन निर्वाचनमार्फत प्रतिनिधि चयन गर्ने तयारी केन्द्रले गरिसकेको छ।
यही प्रक्रियाअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि छनोट गतिविधि तीव्र गतिमा अघि बढिरहेको छ। जिल्लाले जारी कार्यतालिकाअनुसार यो महाधिवेशनका लागि जम्मा १७ जना प्रतिनिधि चयन गर्नेछ—
क्षेत्र नं. १ : ९ जना
क्षेत्र नं. २ : ७ जना
दलित कोटा : १ जना
जिल्ला कमिटी, स्थानीय तहका कमिटी तथा भातृ-संगठनहरूमा मनोनयन, छलफल र सहमति निर्माणका प्रयास भइरहेको भए पनि समानान्तर गतिविधि, गुटगत प्रतिस्पर्धा र असन्तुष्टि पनि त्यत्तिकै सतहमा उत्रिएको देखिन्छ।
Advertisement 2
अधिवेशन नजिकिदै असन्तुष्टि गहिरिँदै
पछिल्ला वर्षहरूमा नेताहरू बीच समन्वय अभाव र संगठनभित्रको दूरी बढ्दै गएको सिन्धुपाल्चोकमा यसपटक असन्तुष्टि अझ स्पष्ट बनेर देखिएको छ। विशेषतः बाह्रबिसे नगरपालिकामा समानान्तर कमिटी गठन भएको घटनाले जिल्लाभर तहल्का मच्चाएको छ।
एमालेमा समानान्तर कमिटी गठन हुनु जिल्लामा अहिलेसम्मकै गम्भीर आन्तरिक विवाद हो। यसको प्रभाव सीधै महाधिवेशन प्रतिनिधि छनोटमा परेको छ।
गुटगत असन्तुष्टि नरोकिनु, पुराना विवाद सुल्झिनु नखोज्नु र नेतृत्वबीच अविश्वास बढ्नु अहिलेका प्रमुख चुनौती बनेका छन्।
Advertisement 3
केन्द्रको ‘दुई लाइन’ को प्रभाव जिल्लामा
जिल्लाभित्र देखिएको असन्तुष्टिको एउटा प्रमुख कारण पार्टी केन्द्रमै रहेको दुई धार—बिद्या भण्डारी नजिकको समूह र केपी शर्मा ओली समर्थक लाइन—बीचको मतभेद हो।
केन्द्रीय स्तरमा बढेको दूरीले जिल्ला संरचना नै दुई भागमा विभाजित भएको नेताहरू बताउँछन्।
यसको प्रभाव स्थानीय तहका कमिटी, कार्यकर्ता समन्वय र प्रतिनिधि छनोटमा झनै प्रस्ट रूपमा देखिएको छ। कतिपय पालिकामा सहमति खोज्ने बैठक नै ‘पोलाराइज’ हुँदै गएको संकेत नेताहरू दिन्छन्।
यद्यपि, दुवै धारका स्थानीय नेताहरू महाधिवेशन लक्षित सहमतिका लागि अन्तिम क्षणसम्म प्रयास जारी राख्ने बताइरहेका छन्।
सिन्धुपाल्चोकमा ९३७४ संगठित सदस्य—सहमतिको चाहना बलियो तर सम्भावना कमजोर
जिल्लामा ९,३७४ संगठित सदस्य छन्। संगठनभित्र स्थिरता र एकता कायम राख्न सर्वसम्मत चयन आवश्यक रहेको धारणाले धेरैजसो नेता–कार्यकर्ताको समर्थन पाएको छ।
तर वर्तमान स्थितिमा सर्वसम्मति कठिन देखिन्छ।
१.धेरै ठाउँमा उम्मेदवार बन्न चाहनेको संख्या बढेको
२.समानान्तर समिति तथा गुटगत क्रियाकलाप रोकिएको नदेखिएको
३.पुराना विवाद मिलानको चरणमा प्रवेश नै नगरेको
यी कारणले सहमतिभन्दा निर्वाचन प्रक्रियामा जानुपर्ने सम्भावना बढी रहेको जिल्ला नेताहरू स्वीकार गर्छन्।
एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार, महाधिवेशन प्रतिनिधि चयनमा पार्टीको प्राथमिकता ‘सर्वसम्मत प्रक्रिया’ नै हो।
तामाङ भन्छन्, “सहमति भएर प्रतिनिधि चयन हुन सके संगठनभित्रको एकता अझ बलियो बन्छ। हामी त्यसैको प्रयासमा छौँ। तर यदि सहमति जुटेन भने निर्वाचनमार्फत अघि बढ्नु नै लोकतान्त्रिक विधि हो, त्यसलाई पनि हामी स्वीकार्छौँ।”
त्यस्तै जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार सकेसम्म सर्बसम्म रुपमै प्रतिनिधि होस भनेर लागी परेको बताउँछन “जिल्लाका शीर्ष नेताहरूलाई सहमतिको वातावरण बनाउन जिम्मा दिएको छ यद्यपि अन्तिम सहमति खोजिन्छ। तर ground स्थिति हेर्दा सर्वसम्मत कठिन देखिन्छ।” चुनावी प्रक्रियानै जाने प्रवल संभावना देखिन्छ, श्रेष्ठले बताए ।
त्यस्तै स्थानीय नेताहरू पनि छलफल तथा बैठकहरू भइरहे पनि गुटगत संरचना बलियो भएकाले अन्तिम क्षणसम्म सहमति बन्ने ग्यारेन्टी नभएको बुझाई उनिहरुमा छ ।
महाधिवेशनपूर्व सिन्धुपाल्चोक UML–भित्रै ‘चर्चाको केन्द्र’
आन्तरिक तानातान, संगठनात्मक समन्वयको कमी, समानान्तर गतिविधि र प्रतिनिधि छनोटमा देखिएको गम्भीर मतभिन्नताको कारण सिन्धुपाल्चोक अहिले एमाले भित्र चर्चाको केन्द्रमा छ।
मङ्सिर १३ गते प्रतिनिधि छनोट सर्वसम्मतमा टुंगिन्छ कि निर्वाचनतर्फ धकेलिन्छ—यो विषयले जिल्लाभरका कार्यकर्तामात्र होइन, केन्द्र नेतृत्वसम्म चासो बढाएको छ।
एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकको प्रतिनिधि छनोट प्रक्रिया नै आगामी संगठनिक शक्ति–सन्तुलन, नेतृत्व प्रभाव, र केन्द्रीय धारहरूको भविष्यको दिशानिर्देशन कता मोडिन्छ भन्ने मुख्य संकेतक बन्ने आकलन गरिएको छ।



प्रतिक्रिया दिनुहोस्