
Advertisement 1
नयाँ पुस्ताको आन्दोलन र संरचनागत रूपान्तरणमा अबको बाटो
निमा ग्याल्जेन शेर्पा, अध्यक्ष – हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक
Advertisement 2
काठमाडौ भदौ २७: नेपालको राजनीतिक इतिहासलाई नियाल्दा परिवर्तनका बहुविध चरण देखिन्छन्। प्रजातन्त्र प्राप्ति होस् वा गणतन्त्रको घोषणा, प्रत्येक आन्दोलनले केही न केही उपलब्धि दिलाएको छ। तर, साँचो प्रश्न भनेको—के यी आन्दोलनहरूले नेपाललाई न्यायपूर्ण, समान र समावेशी समाजतर्फ अघि बढाउन सके?
आज हामी नयाँ पुस्ताद्वारा उठाइएको Gen Z आन्दोलनको ऊर्जा र चेतनासँग साक्षात्कार भइरहेका छौं। यो आन्दोलन केवल विरोध वा सडक प्रदर्शनमा सीमित छैन, बरु व्यवहारमै नयाँ विकल्प खोज्ने र पुरानो सोचलाई चुनौती दिने दिशामा अघि बढिरहेको छ। यसैको ज्वलन्त उदाहरण हुन्—हर्क साम्पाङ, बालेन शाह, कुलमान घिसिङ लगायतका व्यक्तित्वहरू। उनीहरूले जनताको पक्षमा बोल्ने मात्र होइन, काम गरेर पनि देखाइरहेका छन्। जनताको हितलाई प्राथमिकता दिने, पारदर्शी र जवाफदेही नेतृत्व कस्तो हुन्छ भन्ने उनीहरूले प्रष्ट्याएका छन्।
Advertisement 3
तर, यथार्थलाई नबिर्सौं। पुरानो राजनीतिक संस्कृतिको गहिरो जराले हाम्रो समाजलाई अझै बाँधेर राखेको छ। आदिवासी–जनजाति, मधेशी, दलित तथा अन्य सीमान्तकृत समुदायहरूलाई पछिल्ला दुई सय वर्षदेखि राज्यका हरेक तहमा प्रणालीगत रूपमा उपेक्षा गरिएको ऐतिहासिक तथ्य हाम्रो सामु छ। यसले अवसरको असमान वितरण मात्र होइन, दीर्घकालीन सामाजिक असमानतालाई जन्म दिएको छ।
त्यसैले अबको आन्दोलन केवल नारा वा नेतृत्वको अनुहार बदल्ने प्रयासमा सीमित रहनु हुँदैन। हामीले सामाजिक न्याय, समान अवसर र संरचनागत रूपान्तरणलाई केन्द्रमा राख्नैपर्छ। नयाँ पुस्ताको ऊर्जा त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ, जब त्यो प्रणालीकै आधारभूत खामीलाई सच्याउने दिशामा प्रयोग हुन्छ।
शिक्षा र स्वास्थ्य: समानताको ढोका
हामी सबैलाई थाहा छ, शिक्षा र स्वास्थ्य कुनै विलासिता होइन, आधारभूत अधिकार हो। तर नेपालमा अझै पनि गुणस्तरीय शिक्षा धनीका लागि मात्र उपलब्ध छ, र राम्रो स्वास्थ्य सेवा पाउन ग्रामीण जनताले असाध्यै कठिनाइ भोग्नुपर्छ। यदि नेपालले यी दुई क्षेत्रमा आमूल सुधार गर्दै पूर्ण निःशुल्क र सर्वसुलभ पहुँच सुनिश्चित गर्न सक्यो भने, त्यो असमानताविरुद्धको वास्तविक क्रान्ति हुनेछ।
निःशुल्क शिक्षा पाएपछि गरिब किसानको छोरा–छोरीले पनि डाक्टर, इन्जिनियर वा वैज्ञानिक बन्ने बाटो खुलेको अनुभूति गर्नेछन्। स्वास्थ्य उपचारमा समान पहुँच पाएपछि श्रमिकको जीवन रक्षा हुनेछ। यसरी मानव पूँजी सबल बनेर राष्ट्रलाई दीर्घकालीन रूपमा सबल र सक्षम बनाउनेछ।
रूपान्तरणको बाटो
स्थायी रूपान्तरण सम्भव छ, तर त्यसका लागि केही आधारभूत कदम आवश्यक छन्:
१.राज्यको नीतिमा समान अवसर र समावेशीकरणलाई अनिवार्य बनाइनु पर्छ।
२.स्थानीय तहदेखि केन्द्रसम्म शक्ति र स्रोतको न्यायोचित वितरण गर्नुपर्छ।
३.नयाँ पुस्ताको आवाजलाई नीतिगत तहमा संस्थागत गर्नुपर्छ।
४.सामाजिक, आर्थिक र सांस्कृतिक विविधतालाई राष्ट्रको शक्तिका रूपमा आत्मसात गर्नुपर्छ।
आज नेपाल crossroads मा उभिएको छ। नयाँ पुस्ताले ल्याएको ऊर्जा, पुराना पुस्ताले संजोएको अनुभव, र सीमान्तकृत समुदायको आवाजलाई एकसाथ ल्याउन सकियो भने मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ। संरचनागत रूपान्तरणबिनाको आन्दोलन क्षणिक उत्साह मात्रै हो, तर आधारभूत सुधारसहितको आन्दोलन दीर्घकालीन समाधान हो।
हामीले अब नयाँ पुस्ताको नेतृत्वलाई केवल समर्थन मात्र होइन, नीतिगत आधार र संस्थागत ग्यारेन्टीमार्फत सुदृढ गर्नुपर्छ। जब शिक्षा, स्वास्थ्य, न्याय र अवसर सबैका लागि समान रूपमा उपलब्ध हुन्छन्, तब मात्र नेपालले साँचो अर्थमा न्यायपूर्ण समाज र समावेशी लोकतन्त्रको बाटो समाउनेछ।



प्रतिक्रिया दिनुहोस्