२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

१९ विद्यार्थीको निधन, अभिभावक संघ आक्रोशित

९ महिना अगाडि

Gen-Z आन्दोलनमा भएको दमनप्रति अभिभावक संघ नेपाल आक्रोशित

Advertisement 1

काठमाडौं – हिजो काठमाडौंसहित देशका विभिन्न स्थानमा Gen-Z पुस्ताले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट भएको निर्मम दमनप्रति अभिभावक संघ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। सो क्रममा १९ जना निर्दोष युवा विद्यार्थीको ज्यान गएको र सयौं घाइते भएको घटनाप्रति संघले स्तब्धता प्रकट गरेको छ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पूरीले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अमानवीय र कायरतापूर्ण व्यवहारप्रति संघ गहिरो दुःख व्यक्त गरेको जानकारी दिएका छन्। “हामी सबै अभिभावक आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने पक्षमा सधैं अडिग छौं। हिंसा र रक्तपातले कुनै पनि समस्या समाधान गर्दैन। त्यसैले संयम, समझदारी र सहकार्यमार्फत लोकतान्त्रिक अभ्यासभित्रै रहेर मात्र समाधान खोजिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो,” अध्यक्ष पूरीले बताएका छन्।

उनले दमनकारी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारलाई लिँदै तत्काल राजीनामा दिनुपर्ने माग समेत गरेका छन्। साथै, मृतक परिवारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते विद्यार्थीहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।

Advertisement 3

“हत्याको बाटो कहिल्यै समाधान होइन। मृतक परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्, घाइतेहरूले शीघ्र स्वास्थ्यलाभ प्राप्त गरून् भन्ने हाम्रो कामना छ। आगामी दिनमा यस्तो घटना नदोहोरियोस् भन्ने चाहना सहित अभिभावक संघ नेपाल विद्यार्थी हक हितका लागि निरन्तर क्रियाशील रहन्छ,” अध्यक्ष पूरीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार