२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

मेयर तामाङको आग्रह — “सिकेका कुरा व्यवहारमा उतार्न शिक्षक तत्पर हुनुपर्छ”

१० महिना अगाडि

मेलम्चीमा दुई दिने शिक्षक क्षमता विकास तालिम सुरु

Advertisement 1

मेलम्ची — मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्यु नेपाल र साझेदारी नेपालको सहयोगमा ‘एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सीप विकाससम्बन्धी’ दुई दिने क्षमता विकास तालिम मेलम्चीमा सुरु भएको छ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले शिक्षक पेशा मर्यादित रहेको उल्लेख गर्दै यस क्षेत्रमा इमान्दारिता अनिवार्य हुने बताए। उनले तालिममार्फत प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागी शिक्षकलाई आग्रह गरे। “शिक्षकको क्षमताविकासका लागि नगरपालिका निरन्तर तालिम आयोजना गरिरहेको छ,” उनले भने।

तालिममा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी सहायक निरीक्षक कुमार चौलागाईंले सहभागी शिक्षकलाई साइबर क्राइमबारे जानकारी गराएका छन्। मेलम्चीका ६० जना शिक्षक तालिममा सहभागी भएका छन्।

Advertisement 3

तालिमको उद्देश्यबारे जानकारी दिँदै नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका श्रोत विज्ञ योगबहादुर थापाले विद्यालय अनुगमनका क्रममा एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सीप अझै आवश्यक रहेको देखिएकाले तालिम आयोजना गरिएको बताए। कार्यक्रम साझेदारी नेपालका अध्यक्ष मानबहादुर भुसालको सभापतित्वमा सम्पन्न भएको हो।

तालिम सहजीकरण जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रकुमार तामाङलगायत प्रशिक्षकहरूले गरेका छन्। नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष कुमार खतिवडा, नगरपालिकाका श्रोत विज्ञ योगबहादुर थापा पनि सहजीकरण टोलीमा सहभागी रहेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण थापाले गरेका थिए।

धेरै पढिएको

सम्बन्धित समाचार