रविको कोठामा हावापानी बन्द, प्रशासनले सुरक्षा कारण देखायो
Advertisement 1

भैरहवा — राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा नेतृत्वको टोलीले सोमबार भैरहवास्थित कारागारमा व्यापक अनुगमन गरेको छ। टोलीले पूर्वउपप्रधान तथा सञ्चारकर्मी रवि लामिछानेलाई राखिएको कोठासहित कारागारको समग्र अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेको हो।
Advertisement 2
अनुगमनका क्रममा लामिछानेलाई राखिएको कोठामा हावा–पानीको पर्याप्त सुविधा नभएको पाइएको आयोगले जनाएको छ। सदस्य थापाले जानकारी दिँदै भनिन्, “रविजीलाई राखिएको कोठामा एसी छैन, झ्याल बन्द गरिएको रहेछ। प्रशासनले यसलाई सुरक्षाको कारण देखाएको छ। हामीले आजै भनेका छौं— छिट्टै व्यवस्थापन गर्छौं र झ्याल खोलिदिन्छौं भन्ने आश्वासन उहाँहरूले दिनुभयो।”
थापाले कैदीबन्दीहरूको स्वास्थ्य, सरसफाइ, खाना, खानेपानी र सुरक्षा व्यवस्थाको अवस्थाबारे पनि बुझाइ लिएको बताइन्। उनका अनुसार लामिछानेको कोठामा हावापानी नपुग्ने अवस्था मानसिक र शारीरिक स्वास्थ्य दुवैका लागि प्रतिकूल हुन सक्ने भएकाले तत्काल सुधार आवश्यक छ।
Advertisement 3
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागारभित्रका अन्य कैदीबन्दीहरूको समस्या र गुनासो पनि सुनेको थियो। केही कैदीबन्दीहरूले खाना, उपचार, भेटघाट समय र भीडभाडसम्बन्धी गुनासो राखेका थिए।
आयोगले निरीक्षणको प्रतिवेदन तयार गरी चाँडै सार्वजनिक गर्ने र आवश्यक सिफारिस गर्ने जनाएको छ। थापाले भनिन्, “कैदीबन्दीको अवस्था मानव अधिकारका मापदण्डअनुसार हुनुपर्छ। सुरक्षा र स्वास्थ्यबीच सन्तुलन कायम गर्न प्रशासनले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्छ।”
भैरहवा कारागारमा हाल क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। स्रोतका अनुसार भीडभाडका कारण कोठाहरूमा पर्याप्त हावापानी, प्रकाश र आरामको सुविधा दिन चुनौतीपूर्ण बनेको छ। यसबारे प्रशासनले सुरक्षा र व्यवस्थापन सुधारका उपाय खोजिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्