पुर्खाको विरासत ब्यूँताउँदै शिवाकोटी समाज, दोलखामा पुनः सुरु दही–च्यूरा भोज
Advertisement 1

दोलखा – पुर्खाले थालनी गरेका परम्परा र धरोहर जोगाउने अभियानमा शिवाकोटी समाज सक्रिय बनेको छ। दोलखाको सुनखानी (हाल कालिञ्चोक गाउँपालिका–८) मूल थातथलो भएका शिवाकोटी समुदाय अहिले देश–विदेशमा फैलिएको भए पनि आफ्नो इतिहास र संस्कृति जोगाउन साझा प्रयास गर्दैछन्।
Advertisement 2
इतिहासका पानामा दर्ज रहेको कथा अनुसार, औरङ्गजेव जस्ता क्रुर शासकले हिन्दुस्तानमा हिन्दुमाथि चरम अत्याचार गरेपछि धर्म रक्षा गर्न गणेश पाध्येसहितका शिवाकोटी पूर्वजहरू नेपाल प्रवेश गरेका थिए। तत्कालीन दोलखाली राजाबाट सुनखानी छपर्कुमा बसोबासको अनुमति पाएपछि, उनीहरूले यहाँको धार्मिक, सांस्कृतिक र सामाजिक संरचना निर्माणमा योगदान पुर्याए।
शिवाकोटी समाजका केन्द्रीय सदस्य खड्ग प्रसाद शिवाकोटीले भने, “हाम्रो पुर्खाले सुरु गरेका परम्परा र संस्कृति केवल स्मृतिमा मात्र होइन, व्यवहारमै जिवन्त रहून् भन्ने हाम्रो चाहना हो। दही–च्यूरा भोज पुनः सुरु गर्नु यसको प्रतीकात्मक सुरुवात हो,” भन्दै सम्पूर्ण शिवाकोटी सन्तानलाई यस अभियानमा हातेमालो गर्न आग्रह गरे।
Advertisement 3
कालिञ्चोक भगवतीसँगको गहिरो नाता
सुनखानीमा बसोबास गरेपछि शिवाकोटीहरूले आद्य शक्तिपीठ कालिञ्चोक भगवतीलाई आफ्नो जीवनको अभिन्न अंश बनाएका थिए। जनश्रुति अनुसार, भगवतीलाई ‘शिवा’ भनिन्छ र शिवाको कोटी–कोटी सेवा गर्ने परम्पराबाट नै ‘शिवाकोटी’ थर प्रचलनमा आएको हो।
पुस्तौँसम्म गौपालनलाई जीवनाधार बनाएका शिवाकोटीहरू कालिञ्चोक आसपासका खर्कमा गोठ राख्थे र आफ्नो पशुधनको सुरक्षाका लागि कालिञ्चोक माईको सेवामा समर्पित हुन्थे। गणेश पाध्येका छोरा गजाधरलाई सपनामा भगवतीले देखाएको खड्ग आजसम्म शिवाकोटीहरूले चौधरामा राखी पूजा गर्दै आएका छन्।
जनैपूर्णिमामा कालिञ्चोक मेलामा आउने भक्तजनका लागि गजाधरको पालादेखि सुरु भएको दही–च्यूरा भोजको परम्परा सन् २०३९ सालसम्म निरन्तर रह्यो। गोठपालन अन्त्यसँगै यो चलन हराउँदै गयो, तर शनिवार शिवाकोटी समाजको पहलमा सो परम्परा पुनः सुरु गर्दै मेलामा सहभागी भक्तजनलाई दही–च्यूरा खुवाइयो। यस अवसरमा श्रृङ्गेश्वर खैजडी भजन समूहले परम्परागत भजन पनि प्रस्तुत गर्यो।
भीमेश्वर मन्दिरसँगको अटुट सम्बन्ध
कालिञ्चोक मात्र होइन, भीमेश्वर मन्दिरसँग पनि शिवाकोटीहरूको गहिरो सम्बन्ध छ। विवाह पञ्चमीको दिन भीमेश्वरमा दुग्धधाराले रुद्री गर्ने परम्परा आजसम्म जीवित छ। गाईपालन गर्नेहरू यस दिन बिहान दुहिएको दूध घरभित्र नल्याई सीधा मन्दिरमा अर्पण गर्छन्।
धरोहर संरक्षणको अभियान
शिवाकोटी समाज गठनपछि देशभर शाखा विस्तार हुँदैछ। मूल थलोमा रहेको मल्लकालीन शैलीमा निर्मित चौघरा दरबारको जीर्णोद्धार तथा व्यवस्थापन सुरु गरिएको छ, जसलाई आकर्षक बगैंचासहित भविष्यमा व्यवस्थित संग्रहालयमा रुपान्तरण गर्ने लक्ष्य छ।
त्यसैगरी, कालिनाग मन्दिर, गणेश पाटी, शिवकुटी, श्रृङ्गेश्वर गुफा र कालिञ्चोकलाई धार्मिक सर्किटका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। गणेश पाटी र शिवकुटी जस्ता ऐतिहासिक सम्पदाको पुनःस्थापना तथा संरक्षणका लागि ‘मुठीदान’ अभियान सञ्चालन भइरहेको छ।
शिवाकोटी अगुवाहरूको भनाइमा, “पुर्खाले छोडेको धरोहर जोगाउनु सन्तानको कर्तव्य हो, जहाँ जसले सकेको योगदान दिनुपर्छ।”
पुर्खाको अमूल्य सम्पदा संरक्षण र सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने यो पहल दोलखाका मात्र नभई सम्पूर्ण शिवाकोटी समुदायको गौरव बनेको छ।



प्रतिक्रिया दिनुहोस्