२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

जनस्वास्थ्यको नयाँ पाइला: उच्च रक्तचाप नियन्त्रण कार्यक्रमको समीक्षा

१२ महिना अगाडि

सिन्धुपाल्चोकमा उच्च रक्तचाप नियन्त्रण कार्यक्रमको समीक्षा सम्पन्न, दीर्घकालीन निगरानीको सुझाव

Advertisement 1

सिन्धुपाल्चोक — समुदाय स्तरमा उच्च रक्तचाप नियन्त्रणसम्बन्धी पहिलो परीक्षण कार्यक्रमको समीक्षा बैठक शुक्रबार सम्पन्न भएको छ। मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख, प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकमा यसअघि समुदायमै पुगेर गरिएको अनुसन्धानको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले कार्यक्रममा अनुसन्धानको पृष्ठभूमि र उपलब्धिहरूको जानकारी गराउँदै भन्नुभयो, “गाउँ–गाउँमा पुगेर गरिएको अनुसन्धानले देखाएको तथ्यांकले भविष्यमा नीति निर्माणका लागि मार्गनिर्देशन गर्नेछ। यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रतिको चेतना बढाउनुका साथै प्रारम्भिक रोग पहिचान र रोकथाममा टेवा पुर्याउँछ।”

बैठकमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदा पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, मेलम्ची–७ का वडा अध्यक्ष पासाङ तामाङ, अनुसन्धानकर्ता डा. अर्चना श्रेष्ठ र अनुसन्धान विज्ञ डा. दीपक चौलागाईंसहित सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो।

Advertisement 3

अनुसन्धान विज्ञ डा. चौलागाईंले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै भन्नुभयो, “सामान्य आमजनतामा उच्च रक्तचापबारे चेतना फैलाउनु र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउनु यो कार्यक्रमको प्रमुख उद्देश्य हो।”

प्रमुख अतिथि श्रेष्ठले स्वास्थ्य समस्या प्रारम्भिक चरणमै पहिचान गरी आवश्यक उपचार गर्नु अनिवार्य भएको बताउँदै यस्ता कार्यक्रमहरूले स्थानीय स्वास्थ्य संरचनालाई बलियो बनाउन योगदान दिने धारणा राख्नुभयो।

उपाध्यक्ष अधिकारीले ग्रामीण तहबाटै यस्ता कार्यक्रम सञ्चालन गर्नुले जनस्तरसम्म सन्देश पुग्ने विश्वास व्यक्त गर्दै दीर्घकालीन रूपमा यसले लाभ पुर्याउने बताउनुभयो।

डाक्टर अर्चना श्रेष्ठले ग्रामीण भेगमा यस्ता कार्यक्रमले स्वास्थ्य सेवा विस्तारमा सकारात्मक भूमिका खेल्ने बताउँदै भनिन्, “उच्च रक्तचाप नियन्त्रणजस्ता विषयमा सचेतना अभिवृद्धि गर्नु नै स्वास्थ्य संवर्धनको आधार हो।”

बैठकले आगामी दिनमा नियमित स्वास्थ्य जाँच, स्वास्थ्य शिक्षा कार्यक्रम र दीर्घकालीन निगरानीलाई कार्यक्रमसँग जोड्नुपर्ने सुझाव दिएको छ। सहभागी सरोकारवाला तथा स्वास्थ्यकर्मीहरूले ग्रामीण स्वास्थ्य संवर्धनका लागि यस्ता पहललाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार