२०८३ बैशाख ८ मंगलवार
नेपाली समय

आधुनिक शिक्षाको झल्को दिने हिमशृंखला एकेडेमीमा स्टिम एण्ड साइन्स एक्स्पो सम्पन्न

१ महिना अगाडि

हिमशृंखला एकेडेमीमा ‘स्टिम एण्ड साइन्स एक्स्पो’ : व्यवहारिक शिक्षाको सशक्त उदाहरण

Advertisement 1


काठमाडौं – पछिल्लो समय शिक्षण प्रणालीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक र सीपमूलक बनाउने आवश्यकता बढ्दै गएको सन्दर्भमा गोकर्णश्वर नगरपालिका–२, नयाँपाटीस्थित हिमशृंखला एकेडेमीले आयोजना गरेको ‘स्टिम एण्ड साइन्स एक्स्पो’ले आधुनिक शिक्षाको प्रभावकारी नमूना प्रस्तुत गरेको छ।


परम्परागत घोकन्ते शिक्षण प्रणालीबाट बाहिर निस्केर विद्यार्थीलाई अनुसन्धान, आविष्कार र प्रयोगमार्फत सिकाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विशेषगरी कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले आफ्नै सोच, सिर्जना र मेहनतका आधारमा तयार पारेका परियोजनाहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए।
एक्स्पोमा विद्यार्थीहरूले ३८ वटा विभिन्न स्टलहरू राखी विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) का विविध पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।

जलविद्युत गृहको नमूना, वाइन पावर प्रणाली, रेन सेन्सर, फ्लड अलार्म, केबलकार, ड्रोन, मानव शरीर प्रणाली जस्ता परियोजनाहरूले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा रूपान्तरण गर्ने क्षमतालाई स्पष्ट पारेका थिए।


त्यसैगरी, आधुनिक शहरको नमूना निर्माण, स्वचालित कोक्रो, मानव निर्मित रोबर्ट, स्मार्ट पार्किङ प्रणाली, हाइड्रो पुल तथा अग्नि नियन्त्रण उपकरण जस्ता नवीनतम अवधारणाले दर्शकहरूको ध्यान केन्द्रित गरेका थिए। यी प्रस्तुतीहरूले विद्यार्थीहरूमा रहेको सृजनात्मक सोच, समस्या समाधान गर्ने क्षमता तथा प्रविधिसँगको बढ्दो सम्बन्धलाई उजागर गरेका थिए।

Advertisement 3


कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले आफ्ना सन्तानको सीप र क्षमतालाई प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाएका थिए। यसले विद्यालय, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।


एकेडेमीका प्रिन्सिपल नारायणभक्त श्रेष्ठले यस्ता कार्यक्रमहरूले आधुनिक शिक्षाको मर्मलाई व्यवहारमा उतार्ने काम गर्ने बताए। उनका अनुसार “विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान दिनु मात्र पर्याप्त हुँदैन, उनीहरूले सिकेको कुरा प्रयोगमार्फत बुझ्न र अनुभव गर्न पाउनु आवश्यक छ, र यस्ता एक्स्पोले त्यही अवसर प्रदान गर्छन्।”


विज्ञान शिक्षक नारायण सुवेदी र शुक्र दाहालले पनि एक्स्पोको महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले विद्यार्थी, अभिभावक र शिक्षकबीच आत्मीयता बढाउनुका साथै सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने उल्लेख गरे। “विद्यार्थीले आफैंले बनाएको परियोजना प्रस्तुत गर्दा उनीहरूमा आत्मविश्वास वृद्धि हुन्छ र सिकाइ दिगो बन्छ,” उनीहरूको भनाइ थियो।


कार्यक्रममा प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक सामग्रीहरू पनि समावेश गरिएका थिए। भूकम्प, बाढी, आगलागी जस्ता विपद्बाट पूर्व जानकारी कसरी पाउने र सुरक्षित रहने उपायहरूबारे विद्यार्थीहरूले महत्वपूर्ण ज्ञान हासिल गरेका थिए, जुन उनीहरूको दैनन्दिन जीवनमा उपयोगी हुने विश्वास गरिएको छ।
हिमशृंखला एकेडेमीले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ, जसले विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।


अन्ततः, यस्तो प्रकारका एक्स्पोहरूले केवल विद्यालयभित्रको कार्यक्रमको सीमामा नरही भविष्यका वैज्ञानिक, इन्जिनियर र नवप्रवर्तनकर्ताहरू तयार पार्ने आधार निर्माण गरिरहेका छन्। व्यवहारिक, सीपमूलक र प्रविधिमैत्री शिक्षाको युगमा हिमशृंखला एकेडेमीको यो पहल वास्तवमै अनुकरणीय र प्रेरणादायी बनेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार