समयसापेक्ष शिक्षामा हिमशृङ्खलाको अग्रसरता, अभिभावकहरू उत्साहित
Advertisement 1

काठमाडौं — गोकर्णेश्वर–२, नयाँपाटीस्थित हिमशृङ्खला एकेडेमी +२ द्वारा आयोजित बृहत् अभिभावक भेला, समीक्षा तथा अभिमुखीकरण गोष्ठी आज भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको नयाँ भवनमा सम्पन्न उक्त कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रकारको कार्यक्रम यसपटक झनै व्यवस्थित, सान्दर्भिक र प्रभावकारी बनेको सहभागीहरूको भनाइ रहेको छ। कार्यक्रममा शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको समग्र विकास तथा अभिभावक–विद्यालय सहकार्यका विषयमा गहन छलफल गरिएको थियो।
Advertisement 2

कार्यक्रममा प्रमुख उत्प्रेरक वक्ताका रूपमा सहभागी अशोककुमार दाहाल ले अभिभावकहरूलाई लक्षित गर्दै प्रेरणादायी अभिमुखीकरण प्रदान गर्नुभयो। उहाँले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन अभिभावकको भूमिका कत्तिको महत्वपूर्ण हुन्छ भन्ने विषयमा स्पष्ट रूपमा प्रकाश पार्दै बालबालिकालाई सकारात्मक सोच, अनुशासन र सही मार्गदर्शनतर्फ कसरी उन्मुख गराउने भन्नेबारे व्यावहारिक सुझावहरू दिनुभयो। साथै, डिजिटल युगमा बालबालिकाको मानसिक विकास, व्यवहारिक शिक्षा र अभिभावकको सचेतनाको आवश्यकता जस्ता विषयमा समेत उहाँले विस्तृत धारणा राख्नुभयो। उहाँको प्रस्तुतीले अभिभावकहरूलाई गहिरो रूपमा सोच्न बाध्य बनाएको र नयाँ दृष्टिकोण प्रदान गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक नारायणभक्त श्रेष्ठ ले विगत एक वर्षमा विद्यालयले सञ्चालन गरेका शैक्षिक, अतिरिक्त तथा सह-पाठ्यक्रम गतिविधिहरूको विस्तृत समीक्षा प्रस्तुत गर्नुभयो। उहाँले विद्यालयको समग्र प्रगति, उपलब्धिहरू तथा आगामी योजनाहरूबारे जानकारी गराउँदै शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने दिशामा विद्यालय निरन्तर अघि बढिरहेको बताउनुभयो। साथै, अभिभावकको सक्रिय सहभागिता र सहयोगले नै विद्यालय आजको अवस्थासम्म आइपुगेको उल्लेख गर्दै भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
Advertisement 3

प्रधानाध्यापक श्रेष्ठले समयसापेक्ष, व्यवहारिक तथा आधुनिक शिक्षा प्रणालीलाई आत्मसात गर्दै विद्यालयलाई अझ उन्नत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा प्रविधिमैत्री शिक्षण विधि, नविन शैक्षिक कार्यक्रम तथा विद्यार्थीको समग्र व्यक्तित्व विकासमा केन्द्रित योजनाहरू कार्यान्वयन गरिने जानकारी दिनुभयो। कार्यक्रममा विद्यालयमा हालसम्म भएका भौतिक तथा शैक्षिक प्रगतिबारे पनि जानकारी गराइएको थियो, जसले अभिभावकहरूलाई विद्यालयप्रति थप विश्वास र उत्साह प्रदान गरेको देखिएको थियो।

उक्त कार्यक्रममा विद्यालयका संस्थापक दिपेन्द्र लामा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना जिज्ञासा राख्दै विद्यालयको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका थिए। यस प्रकारको कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।




प्रतिक्रिया दिनुहोस्