प्रथम विश्वकप योगा च्याम्पियनसिप–२०२६ मा रिलायन्स कलेजका कर्ण सिंह खड्काको ऐतिहासिक सफलता, चार इभेन्टमा चार पदक
Advertisement 1

काठमाडौं । रिलायन्स कलेजका विद्यार्थी कर्ण सिंह खड्काले अन्तर्राष्ट्रिय योगासन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्व मञ्चमा नेपालको गौरव बढाएका छन्। हालै कक्षा १२ उत्तीर्ण गरेका खड्काले भारतको अहमदाबादमा सम्पन्न विश्व योगासन प्रतियोगितामा दुई रजत र दुई कांस्य गरी कुल चार पदक जित्न सफल भएका हुन्।
रिलायन्स कलेजमा अध्ययनरत रहँदा योगप्रति रुचि बढाएका खड्काले कलेजले सिर्जना गरेको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमैत्री वातावरणका कारण आफ्नो प्रतिभालाई निखार्ने अवसर पाएको बताए। नियमित अभ्यास, प्रशिक्षकहरूको मार्गदर्शन र कलेजको निरन्तर प्रोत्साहनले आफूलाई विश्वस्तरीय प्रतियोगितासम्म पुग्न प्रेरित गरेको उनको भनाइ छ।
विश्वका ७८ भन्दा बढी राष्ट्रका खेलाडीहरू सहभागी उक्त प्रतियोगितामा खड्काले नेपाललाई प्रतिनिधित्व गर्दै उल्लेखनीय सफलता हासिल गरेका हुन्। पहिलो अन्तर्राष्ट्रिय सहभागितामै चार पदक जित्नु रिलायन्स कलेजका लागि समेत गौरवको विषय बनेको छ। कलेज परिवारले विद्यार्थीको यो उपलब्धिलाई संस्थाको शैक्षिक उत्कृष्टतासँगै खेलकुद र व्यक्तित्व विकासप्रतिको प्रतिबद्धताको परिणामका रूपमा लिएको छ।
प्रतियोगितामा आयोजक भारत पहिलो, जापान दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा रहँदा नेपालले कुल ५१ पदक जित्दै विश्वकै पाँचौं स्थान हासिल गरेको थियो। नेपाली टोलीको यस ऐतिहासिक सफलतामा रिलायन्स कलेजका विद्यार्थी कर्ण सिंह खड्काको योगदान विशेष रूपमा उल्लेखनीय रहेको छ।
आफ्नो सफलतापछि खड्काले परिवार, प्रशिक्षक, इको हिमाल नेपाल तथा रिलायन्स कलेजप्रति विशेष आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम थप उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्