समावेशी आन्दोलनलाई गति दिने प्रतिबद्धतासहित निमा लामा अध्यक्षमा निर्वाचित
Advertisement 1

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशनबाट अध्यक्षमा निमा लामा निर्वाचित भएका छन्। उनले ३९ मत प्राप्त गर्दै महासंघको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।
बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री समेत रहेका लामा लामो समयदेखि आदिवासी जनजाति अधिकार, पहिचान र समावेशीकरणका मुद्दामा सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। उनको नेतृत्वमा महासंघले आदिवासी जनजाति समुदायका हक–हित संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा राज्यका विभिन्न निकायमा समानुपातिक सहभागिताको सुनिश्चिततामा थप सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महासंघको नेतृत्वमा निर्वाचित भएपछि लामा प्रति विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी छ। राजनीतिक, सामाजिक तथा नागरिक समाजका प्रतिनिधिहरूले उनको कार्यकाल सफल र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष लामा स्वयंले पनि सम्पूर्ण आदिवासी जनजाति समुदायलाई एकताबद्ध गर्दै साझा अधिकार र पहिचानको आन्दोलनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महासंघलाई समावेशी, उत्तरदायी र परिणाममुखी संस्था बनाउँदै लैजाने लक्ष्य रहेको बताए।
उनको कार्यकालमा आदिवासी जनजाति समुदायका मुद्दाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी रूपमा उठाइने विश्वास लिइएको छ।



प्रतिक्रिया दिनुहोस्