२०८३ बैशाख ४ शुक्रबार
नेपाली समय

राप्रपाका युवा गोपिकृष्ण चौलागाईं रास्वपामा प्रवेश

४ दिन अगाडि

राप्रपाका युवा नेता गोपिकृष्ण चौलागाईं रास्वपामा प्रवेश, नयाँ राजनीतिक यात्राको घोषणा

Advertisement 1


काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता तथा संघीय संसद् चुनावमा सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका इन्जिनियर गोपिकृष्ण चौलागाईंले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ।
चौलागाईंले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै भावनात्मक अभिव्यक्ति दिनुभएको छ। “अब यही घडी आएको छ, अन्तरमन खोलि भन्न, धन्यवाद ती हातलाई, जसले साथ दिए ‘म’ बन्न,” भन्ने शब्दमार्फत उहाँले विगतको राजनीतिक यात्राप्रति कृतज्ञता प्रकट गर्दै नयाँ यात्राको सुरुआतको संकेत गर्नुभएको हो।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्राप्त सदस्यताको परिचयपत्र सार्वजनिक गर्दै पार्टी प्रवेशको औपचारिक घोषणा गर्नुभएको छ। साथै, अबको आफ्नो सम्पूर्ण राजनीतिक यात्रा रास्वपाबाट अघि बढाउने स्पष्ट संकेत गर्नुभएको छ।
चौलागाईंले गएको प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीभित्रबाटै अन्तरघात भएको गुनासो समेत व्यक्त गर्नुभएको छ। आन्तरिक असहयोगका कारण अपेक्षित परिणाम हासिल गर्न नसकिएको संकेत गर्दै उहाँले नयाँ राजनीतिक विकल्प रोजेको बुझिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय युवापुस्तालाई आकर्षित गर्दै आफ्नो संगठन विस्तार गरिरहेको सन्दर्भमा चौलागाईंको प्रवेशले पार्टीलाई थप ऊर्जा र बल मिल्ने विश्वास गरिएको छ।
नयाँ राजनीतिक यात्राको थालनीसँगै चौलागाईंले जनतामाझ अझ सक्रिय, प्रभावकारी र उत्तरदायी रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाउनुभएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार