२०८२ माघ १० शनिबार
नेपाली समय

गुटबन्दीले थिचिएको एमाले: जितका लागि नयाँ र युवा अनुहारको खोजी

३ हप्ता अगाडि

सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले सिन्धुपाल्चोकले दुवै निर्वाचन क्षेत्रबाट १८ जना आकांक्षीको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ। जिल्ला नेतृत्वले सहमतिका आधारमा एकल नाम पठाउने प्रयास गरे पनि आन्तरिक एकता कायम हुन नसक्दा क्षेत्र नम्बर १ बाट मात्रै ८ जनाको नाम सिफारिस हुन पुगेको हो। यद्यपि अन्तिम समयसम्म उम्मेदवार टुंग्याउन आन्तरिक गृहकार्य जारी रहेको एमाले नेताहरूको दाबी छ।सिन्धुपाल्चोक–१ एमालेका लागि विगत तीन दशकदेखि चुनौतीपूर्ण क्षेत्र मानिँदै आएको छ। २०५४ सालयता यहाँ प्रतिनिधिसभा निर्वाचनमा एमालेले जीत हात पार्न सकेको छैन।

Advertisement 1

निरन्तर पराजयको मूल कारण पार्टीभित्रको गहिरो गुटबन्दी, आपसी अविश्वास र नेतृत्वबीचको असमझदारीलाई स्थानीय स्तरमा प्रमुख कारणका रूपमा हेरिँदै आएको छ।यसपटक पनि उम्मेदवारी सिफारिसमा पुरानै अनुहारहरू—अरुण नेपाल, सरेस नेपाल र जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ—अगाडि आउँदा संगठन पुनः विभाजित मात्रै होइन आगामी निर्वाचनमा नै पुनः पराजय भोग्नुपर्ने संकेत देखिएको छ। अघिल्ला निर्वाचनमा अन्तर्घातका आरोप, कार्यकर्तामाथि कारबाही, समानान्तर कमिटी गठन, सदस्यता नवीकरणसम्बन्धी विवाद र गुटगत प्रतिस्पर्धाले एमालेको सांगठनिक आधार कमजोर बनाउँदै आएको स्थानीय नेताहरू स्वीकार गर्छन्।विशेषगरी सरेस नेपाल उम्मेदवार हुँदा अरुण नेपाल समूह निष्क्रिय बस्ने र अरुण नेपाल अघि सर्दा सरेस नेपाल समूहले खुलेर सहयोग नगर्ने प्रवृत्तिले पटक–पटक एमाले कार्यकर्ता नै प्रत्यक्ष मारमा पर्दै आएको स्थानीय नेता–कार्यकर्ताको गुनासो छ। “हामीले चुनाव जित्न होइन, गुट जोगाउन उम्मेदवार उठाएको जस्तो देखिन्छ,” एक स्थानीय कार्यकर्ताले असन्तुष्टि पोख्दै भने। अर्को जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले पनि पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउन नसकेको र गुट उपगुटमा नै बढी केन्द्रित भएको आरोप छ । जसको कारण बाह्रबिसे नगरपालिकामा अधिवेशनमा नै समानान्तर कमिटी गठनसम्म हुन पुगेको छ ।

स्थानीय तहको पछिल्लो निर्वाचन परिणामले पनि एमालेको अवस्था स्पष्ट पार्छ। क्षेत्र नम्बर १ भित्रका आठ पालिकामध्ये एमालेले एक मात्र पालिका जितेको छ, त्यो पनि गठबन्धनको सहयोगमा। जितेको पालिकामा समेत चुनावी प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा जनमत क्रमशः कमजोर बन्दै गएको स्थानीयको भनाइ छ।अब एमालेले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादी केन्द्रका प्रभावशाली नेता माधव सापकोटाजस्ता कडा उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। मोहन बस्नेतको टेरामक्स प्रकरणको मुद्दा  अहिले पनि अदालतमा बिचाराधिन रहेको  छ भने माओवादी केन्द्रमा एउटै परिवारका व्यक्तिले पटक–पटक अवसर पाउँदै आएको विषयमा माओवादी पार्टी भित्रै असन्तुष्टि बढ्दो छ। यद्यपि विपक्षी दलका यस्ता कमजोरीको फाइदा उठाउन एमाले स्वयं एकताबद्ध हुन नसकेको आरोप पार्टीभित्रैबाट उठ्न थालेको छ।

यही पृष्ठभूमिमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूले पुराना नेताहरूले आत्मसंयम देखाउँदै पुस्तान्तरण गर्नुपर्ने आवाज तीव्र बनाएका छन्। विवादरहित, सबै गुटलाई समेट्न सक्ने, स्थानीय जनताको मनोविज्ञान बुझ्ने र स्पष्ट विकास दृष्टिकोण बोकेको नयाँ पुस्ताको नेतृत्व अघि सारिएमा मात्र पार्टीभित्रको अन्तरविरोध अन्त्य हुने र संगठन एकताबद्ध भएर चुनावी मैदानमा उत्रन सक्ने उनीहरूको ठम्याइ छ।स्थानीय स्तरमा अहिले “अब गुट होइन, जित चाहिन्छ” भन्ने नारा भावनात्मक मात्र होइन, व्यावहारिक मागका रूपमा स्थापित हुँदै गएको छ। एमालेले यो सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् नगर्ने हो भने सिन्धुपाल्चोक–१ मा पार्टी पुनः प्रतिस्पर्धीमै सीमित हुने जोखिम रहेको स्थानीय नेताहरूको चेतावनी छ। तर समयमै एकता, पुस्तान्तरण र स्पष्ट भिजन भएको नेतृत्व रोज्न सकेमा भने सिन्धुपाल्चोक–१ मा एमालेका लागि जितको ढोका अझै बन्द भइसकेको छैन भन्ने विश्वास पनि उनीहरूले व्यक्त गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार