२०८२ माघ १० शनिबार
नेपाली समय

नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा फुर्बा निमा शेर्पाको उम्मेदवारी घोषणा

३ हप्ता अगाडि

नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा फुर्बा निमा शेर्पाको उम्मेदवारी घोषणा.
काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघ (Nepal Sherpa Student Association) को १५ औँ राष्ट्रिय महाधिवेशनमा फुर्बा निमा शेर्पाले केन्द्रीय अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। केन्द्रीय समिति, काठमाडौंमार्फत उनले संगठनलाई अझ सशक्त, पारदर्शी र विद्यार्थीमुखी बनाउने स्पष्ट दृष्टिकोणसहित अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
उम्मेदवारी घोषणा गर्दै शेर्पाले संगठनप्रति निष्ठा, इमानदारी, संगठनात्मक क्षमता तथा स्पष्ट सोच आफ्नो मुख्य आधार रहेको बताए। लामो समयदेखि शेर्पा विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका उनले विद्यार्थीका हकहित, अवसरको समान पहुँच र नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
“नेपाल शेर्पा विद्यार्थी संघ केवल संगठन मात्र नभई शेर्पा समुदायका विद्यार्थीहरूको साझा आवाज हो,” उनले भने, “यदि अध्यक्षको जिम्मेवारी पाउने अवसर प्राप्त भएमा संघलाई अझ अनुशासित, गतिशील र परिणाममुखी बनाउनेछु।”
फुर्बा निमा शेर्पाले देशभर छरिएर रहेका शेर्पा विद्यार्थीहरूलाई एकताबद्ध गर्दै शिक्षा, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा अधिकारका मुद्दामा सशक्त रूपमा अघि बढ्ने योजना रहेको पनि उल्लेख गरे। संगठनभित्र सुशासन, पारदर्शिता र सामूहिक नेतृत्वलाई मजबुत बनाउने उनको प्रतिबद्धता रहेको छ।
उम्मेदवारी घोषणासँगै उनले सम्पूर्ण प्रतिनिधि, मतदाता तथा शेर्पा विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराइदिन विनम्र अनुरोध गरेका छन्।
नेपाल शेर्पा विद्यार्थी संघको १५ औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदैछ। यस महाधिवेशनलाई शेर्पा विद्यार्थी आन्दोलनको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार