अमेरिकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति मादुरो पक्राउ, न्युयोर्क ल्याइयो
Advertisement 1

काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको छ । अमेरिकी कारबाहीपछि राष्ट्रपति मादुरो र उनकी पत्नीलाई अमेरिकामा ल्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
[बीबीसी]का अनुसार मादुरो र उनकी पत्नी न्युयोर्क राज्यस्थित स्ट्युअर्ट एयर नेसनल गार्ड बेसमा अवतरण गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोको आँखामा पट्टी बाँधिएको अवस्थाको जहाजभित्रको तस्बिर सार्वजनिक गरेका थिए ।
अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार न्युयोर्क पुगेपछि मादुरोलाई हेलिकोप्टरमार्फत म्यानह्याटनको वेस्टसाइड हेलिपोर्ट लगिनेछ । त्यहाँबाट उनलाई अमेरिकी ड्रग एनफोर्समेन्ट एडमिनिस्ट्रेसन (DEA) को मुख्यालय हुँदै ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (MDC) पुर्याइने बताइएको छ ।
एमडीसीलाई उच्च–प्रोफाइल मुद्दा हेर्ने कुख्यात जेलका रूपमा लिइन्छ । यसअघि र्यापर आर केली, जेफ्री एप्स्टाइनकी सहयोगी घिस्लेन म्याक्सवेल तथा हालै सिन डिडी कोम्ब्सजस्ता व्यक्तिहरू यही जेलमा राखिएका थिए ।
अमेरिकी अधिकारीहरूका अनुसार मादुरोलाई न्युयोर्कमा ड्रग तस्करी र हतियारसम्बन्धी अभियोग लगाइएको छ । यद्यपि मादुरोले यसअघि आफू ड्रग कार्टेलको नेता भएको आरोप अस्वीकार गर्दै आएका थिए । अर्को हप्ता उनलाई म्यानह्याटनस्थित संघीय अदालतमा उपस्थित गराइने तयारी भइरहेको जनाइएको छ ।
यस घटनापछि भेनेजुएलाले राष्ट्रिय आपत्काल घोषणा गरेको छ । भेनेजुएला सरकारले अमेरिकाको सैन्य आक्रमणलाई अत्यन्त गम्भीर र सार्वभौमसत्ताविरुद्धको कदम भन्दै कडा शब्दमा भर्त्सना गरेको छ । अमेरिकी कदमपछि भेनेजुएलामा राजनीतिक र सुरक्षा अवस्था थप तनावग्रस्त बन्ने संकेत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्