२०८२ माघ १० शनिबार
नेपाली समय

निजी तथा बोर्डिङ विद्यालयको भूमिका: प्याब्सन बनेपाको दोस्रो नगर परिषद् सफलतापूर्वक सम्पन्न

४ हप्ता अगाडि

प्याप्सन बनेपा नगर समितिको दोस्रो नगर परिषद् सम्पन्न

Advertisement 1


PRIVATE & BOARDING SCHOOLS’ ORGANIZATION NEPAL (PABSON) बनेपा नगर कार्यसमितिको दोस्रो नगर परिषद्–२०८२ कार्यक्रम मिति २०८२ पौष ११ गते शुक्रबार, हिमालयन दृष्य रिसोर्ट, बनेपा–६, काभ्रेपलाञ्चोकमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका सभापति तथा प्याप्सन बनेपा नगर समितिका अध्यक्ष महेन्द्र बिष्टले निजी तथा आवासीय विद्यालयहरूले देशको शैक्षिक विकासमा पुर्‍याउँदै आएको योगदान स्मरण गर्दै, गुणस्तरीय, अनुशासित र व्यवहारिक शिक्षामार्फत विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले निजी विद्यालयहरूलाई सामाजिक उत्तरदायित्वसँग जोडेर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।


कार्यक्रमका प्रमुख अतिथि प्याप्सन केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय विपत् व्यवस्थापन समितिका संयोजक रविन्स शर्माले निजी विद्यालयहरूको भूमिकालाई केवल शिक्षण संस्थासम्म सीमित नराखी राष्ट्र निर्माणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “निजी विद्यालयहरू नाफाका लागि मात्रै स्थापना भएका संस्था होइनन्, यी संस्थाहरूले राज्यले पूरा गर्न नसकेका शैक्षिक आवश्यकताहरू पूरा गर्दै लाखौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्।”

शर्माले विपद्, महामारी तथा संकटका समयमा निजी विद्यालयहरूले देखाएको जिम्मेवारीपूर्ण भूमिकाको चर्चा गर्दै, सामाजिक सेवामा पनि निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा देखिएका असमानता, पहुँचको समस्या र गुणस्तर सुधारका विषयमा राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो। “शिक्षा सुधार एक पक्षको प्रयासले सम्भव हुँदैन, यसको लागि नीतिगत स्पष्टता, संस्थागत इमानदारी र सामूहिक उत्तरदायित्व आवश्यक छ,” उहाँले जोड दिनुभयो।

Advertisement 3


त्यस्तै, प्याप्सन केन्द्रीय उपाध्यक्ष एवं कानुन विभाग संयोजक आशिष श्रेष्ठले शिक्षा क्षेत्रसँग सम्बन्धित कानुनी संरचना, नीति–नियम र निजी विद्यालयहरूले पालना गर्नुपर्ने दायित्वबारे स्पष्ट धारणा राख्नुभयो। उहाँले कानुनी मर्यादाभित्र रहेर गुणस्तरीय शिक्षा प्रदान गर्नु नै निजी विद्यालयहरूको दीर्घकालीन विश्वास र अस्तित्वको आधार भएको बताउनुभयो।

कार्यक्रममा प्याप्सन केन्द्रीय उपमहासचिव भीमसेन केसीले संगठनलाई थप बलियो बनाउँदै शिक्षक, विद्यार्थी र अभिभावकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्याप्सनले शैक्षिक सुधार र संस्थागत सुदृढीकरणमा निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो।
यसैगरी, काभ्रे जिल्ला प्याप्सनका अध्यक्ष श्याम भुजेलले जिल्लामा निजी विद्यालयहरूले भोगिरहेका चुनौती र सम्भावनाबारे चर्चा गर्दै संगठनात्मक एकता र सहकार्य बिना गुणस्तरीय शिक्षा सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। साथै पाँचखाल र पनौती नगर समितिका अध्यक्षहरूले पनि शुभकामना मन्तव्य राख्दै आपसी सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको सञ्चालन बनेपा प्याप्सन नगर समितिका वरिष्ठ उपाध्यक्षले गर्नुभएको थियो। परिषद् कार्यक्रममा शिक्षा क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा आमन्त्रित अतिथि तथा वक्ताहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
निष्कर्षात्मक भूमिका
परिषद् कार्यक्रममा उठाइएका धारणा र छलफलहरूले निजी तथा आवासीय विद्यालयहरू केवल शिक्षण संस्था मात्र नभई शिक्षा पहुँच विस्तार, गुणस्तर सुधार र सामाजिक उत्तरदायित्व वहन गर्ने महत्वपूर्ण साझेदार भएको स्पष्ट गरेको छ। राज्यको प्रयासलाई पूरक बनाउँदै निजी विद्यालयहरूले शिक्षक विकास, विद्यार्थीको सर्वाङ्गीण क्षमता अभिवृद्धि र आधुनिक शिक्षण पद्धतिको प्रयोगमार्फत राष्ट्रको शैक्षिक भविष्य निर्माणमा निरन्तर भूमिका खेल्दै आएको परिषद्ले निष्कर्ष निकालेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार