ओम अस्पतालविरुद्ध गम्भीर आरोप : पिता रमेश ज्योतिले Facebookमार्फत सार्वजनिक गरे पीडा र आक्रोश
काठमाडौँ।
Advertisement 1

चाबहिलस्थित ओम अस्पतालमा उपचाररत ३३ दिनका शिशुको मृत्यु भएपछि उनका पिता रमेश ज्योतिले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा गम्भीर आरोप लगाएका छन्। उनले अस्पतालको एनआइसीयू (NICU) मा भएको “चरम लापरवाही” का कारण निको हुँदै गरेको आफ्ना नवजात छोराको ज्यान गएको दाबी गरेका छन्।
फेसबुकमा लेखिएको भावुक तर कडा वक्तव्यमा ज्योतिले आफूले “आफ्नै आँखाअगाडि निको हुँदै गरेको सन्तान गुमाउनुपरेको” उल्लेख गरेका छन्। उनका अनुसार शिशुको जन्म सोही अस्पतालमा भएको थियो र जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या (RDS) देखिएपछि एनआइसीयूमा भर्ना गरिएको थियो। ३३ दिनसम्मको उपचार, ठूलो आर्थिक खर्च र चिकित्सकीय निगरानीपछि बच्चाको अवस्थामा उल्लेख्य सुधार आएको दाबी गरिएको छ।
उनले फेसबुकमा लेखेका छन्, “चिकित्सकहरूले अवस्था राम्रो भएको र केही हप्तामै घर लैजान सकिने बताएका थिए। हामीले ‘कंगारु मदर केयर’ (KMC) सुरु गरिसकेका थियौँ। अब छोरालाई काखमा बोकेर घर फर्कने सपना मात्र बाँकी थियो।”
तर, उनको आरोप अनुसार दूध खुवाउने क्रममा आवश्यक सावधानी नअपनाउँदा ‘फिडिङ शोक’ (Feeding Shock) भएको र त्यसकै कारण शिशुको मृत्यु भएको हो। “निको भइरहेको बच्चालाई दूध सार्केर मारिनु सामान्य गल्ती होइन, यो सीधा-सीधा अक्षम्य लापरवाही हो,” उनले लेखेका छन्।

रमेश ज्योतिले अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै भनेका छन्, “३३ दिनसम्म महँगो शुल्क तिरेर बच्चा बचाउने प्रयास गरियो। अन्त्यमा एक कर्मचारीको असावधानीले हाम्रो संसार उजाड बनाइयो। उपचार गर्ने ठाउँ नै असुरक्षित भयो भने सर्वसाधारणले कहाँ भरोसा गर्ने?”
उनले तीनवटा स्पष्ट माग अघि सारेका छन्—
१. घटनाको निष्पक्ष छानबिन गरी दोषी स्टाफ र प्रशासनमाथि कानुनी कारबाही।
२. अस्पतालले सार्वजनिक रूपमा आफ्नो गल्ती स्वीकारोस्।
३. संवेदनशील एनआइसीयू जस्तो ठाउँमा अदक्ष जनशक्ति राख्ने व्यवस्थापनमाथि छानबिन होस्।
उनको फेसबुक पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ र धेरै प्रयोगकर्ताले अस्पताल व्यवस्थापनमाथि प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
घटनाबारे अस्पताल प्रशासनको औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। तर, यो प्रकरणले निजी अस्पतालहरूको सेवा गुणस्तर, उत्तरदायित्व र नियमन प्रणालीबारे पुनः गम्भीर बहस सुरु गराएको छ।
Advertisement 2

एक शोकाकुल पिताको सामाजिक सञ्जालमार्फत व्यक्त आक्रोश केवल व्यक्तिगत पीडा मात्र होइन—स्वास्थ्य संस्थाहरूको जिम्मेवारी र जवाफदेहितामाथि उठेको कडा चेतावनी पनि हो। अब सम्बन्धित निकायले यो घटनालाई गम्भीरतापूर्वक लिएर सत्यतथ्य सार्वजनिक गर्नु अपरिहार्य देखिन्छ।


प्रतिक्रिया दिनुहोस्