२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

रिलायन्सको पाँचौँ विज्ञान मेला भव्य समापन, हजारौँ विद्यार्थीको सहभागिता

४ हप्ता अगाडि

रिलायन्स एजुकेसन नेटवर्कको पाँचौँ विज्ञान प्रदर्शनी एवं मेला भव्य रूपमा सम्पन्न

Advertisement 1


काठमाडौं, चावहिल सरस्वतीनगरस्थित रिलायन्स कलेजको प्राङ्गणमा आयोजित पाँचौँ विज्ञान प्रदर्शनी एवं मेला भव्य रूपमा सम्पन्न भएको छ। माघ २८ र २९ गते तथा फागुन १ गते सञ्चालन गरिएको उक्त कार्यक्रम समापन समारोहसँगै उल्लासपूर्ण वातावरणमा टुंगिएको हो। समापन समारोहको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक डा. होमबहादुर बानिया उपस्थित रहनुभएको थियो।


प्रमुख अतिथि डा. बानियाले रिलायन्सजस्तो उदाहरणीय शैक्षिक संस्थाले विद्यार्थी केन्द्रित, खोजमूलक तथा प्रयोगात्मक कार्यक्रमलाई निरन्तरता दिनु अत्यन्तै प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो। उहाँले विज्ञान र सूचना प्रविधिको युगमा यस्ता प्रदर्शनीहरूले विद्यार्थीमा अनुसन्धानशील सोच, सिर्जनशीलता र व्यावहारिक सीप विकास गर्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष रविन्द्रजङ्ग थापाले पाँचौँ संस्करणको सफल आयोजनाप्रति सम्पूर्ण आयोजक, शिक्षक, विद्यार्थी तथा सहभागी विद्यालयहरूलाई धन्यवाद दिँदै आगामी २०८३ सालमा अझ व्यापक र भव्य रूपमा छैठौँ विज्ञान प्रदर्शनी तथा मेला आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विज्ञान शिक्षा र प्रविधिमैत्री वातावरण निर्माणमा रिलायन्स सदैव अग्रसर रहने धारणा राख्नुभयो।
तीन दिनसम्म चलेको उक्त विज्ञान तथा साहित्य मेलामा करिब ५२ वटा विद्यालयबाट ५,००० भन्दा बढी विद्यार्थीहरूले अवलोकनात्मक भ्रमण गरेका थिए। विज्ञान तथा सूचना प्रविधिसम्बन्धी ७७ वटा स्टलहरू राखिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक उपकरण, अनुसन्धानात्मक परियोजना, रोबोटिक्स, कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका विषयमा आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रम रिलायन्स साइन्स एण्ड आइटी क्लबको आयोजनामा सम्पन्न भएको हो।


समापन समारोह विज्ञान संकायका संयोजक यादव पाण्डेको स्वागत मन्तव्यबाट प्रारम्भ भएको थियो। त्यसैगरी रिलायन्स एजुकेसन नेटवर्कका संस्कृति विभाग प्रमुख दामोदर निरौलाले दुई मिनेट ध्यान अभ्यास गराउँदै मासिक थिमबारे चर्चा गर्नुभएको थियो। समापन कार्यक्रमअघि छैठौँ रिलायन्स गायन प्रतियोगिता समेत भव्य रूपमा सम्पन्न गरिएको थियो भने सूचना प्रविधिसम्बन्धी ह्याकाथन प्रतियोगिताले विद्यार्थीहरूमा नवप्रवर्तन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गरेको थियो।
विज्ञान प्रदर्शनीअन्तर्गत कलेज विधातर्फ ट्रिनिटी कलेज प्रथम भएको थियो भने स्कुल विधातर्फ रिलायन्स इन्टरनेसनल एकेडेमी प्रथम हुन सफल भएको थियो। कार्यक्रमको अन्त्यमा रिलायन्स साइन्स एण्ड आइटी क्लबका सचिव अनुप रायले सम्पूर्ण सहभागी, अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
उक्त अवसरमा होटल म्यानेजमेन्ट विभाग प्रमुख बिबि क्षेत्रीले पनि विज्ञान, प्रविधि र व्यवस्थापन शिक्षाबीचको अन्तरसम्बन्धबारे धारणा राख्दै यस्ता कार्यक्रमले बहुआयामिक शिक्षाको वातावरण सुदृढ बनाउने बताउनुभयो।
समग्रमा, पाँचौँ विज्ञान प्रदर्शनी एवं मेला विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धानशीलता र प्रविधिमैत्री सोचको उत्कृष्ट मंचका रूपमा स्थापित भएको आयोजकको निष्कर्ष रहेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार