रिलायन्स इन्टरनेसनल एकेडेमीमा तीनदिने भव्य विज्ञान प्रदर्शनी सुरु
Advertisement 1

काठमाडौं । काठमाडौंको चावहिलस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीमा आजदेखि तीनदिने वृहत् विज्ञान प्रदर्शनी औपचारिक रूपमा सुरु भएको छ । विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र अनुसन्धानात्मक क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनी माघ २८, २९ र फागुन १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
उद्घाटन समारोहको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा प्राचार्य रविन्द्रजङ्ग थापाले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका भौतिकशास्त्र तथा कस्मोलोजीका विशिष्ट वैज्ञानिक प्रा. डा. उदयराज खनाल सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक नन्दुप्रसाद कुशवाहाले व्यक्त गर्नुभएको थियो । संस्कृति विभाग प्रमुख दामोदर निरौलाले दुई मिनेटको ध्यान सत्रमार्फत कार्यक्रम प्रारम्भ गर्नुभएको थियो । शुभकामना मन्तव्य राजुकुमार सिवाकोटीले राख्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्राचार्य रविन्द्रजङ्ग थापाले रिलायन्स इन्टरनेसनल एकेडेमी काठमाडौं उपत्यकाकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो संस्थाको मुख्य लक्ष्य विद्यार्थीहरूको प्रतिभालाई उजागर गरी उनीहरूलाई सक्षम, सभ्य र जिम्मेवार नागरिक बनाउनु हो। पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिनु नै हाम्रो विशेषता हो। यही उद्देश्यअनुरूप यो विज्ञान प्रदर्शनी आयोजना गरिएको हो।”
Advertisement 2

थापाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा खोज, अनुसन्धान र नवप्रवर्तनप्रतिको रुचि बढाउने विश्वास व्यक्त गर्दै करिब पाँच हजार विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको जानकारी दिनुभयो। “युगसापेक्ष प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो। प्रयोगात्मक सिकाइ प्रणालीलाई मजबुत बनाउन यस प्रकारका कार्यक्रम अत्यन्त प्रभावकारी हुनेछन्,” उहाँले थप्नुभयो।
तीन दिनसम्म चल्ने यस प्रदर्शनीमा विभिन्न विद्यालय तथा कलेजबाट गरी कुल ७७ वटा प्रदर्शनी स्टलहरू राखिएका छन्। विज्ञान तथा सूचना प्रविधिसम्बन्धी ६१ वटा मुख्य स्टलका साथै पुस्तक प्रदर्शनी, लेखकसँग साक्षात्कार, प्रयोगमा आधारित गतिविधि, स्मार्ट होम प्रणाली, आर्ट पेन्टिङ, फेस पेन्टिङलगायतका आकर्षक कार्यक्रमहरू समेत समावेश गरिएका छन्।
प्रदर्शनीकै दौरान “मेण्टल क्याम्प” तथा विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू समेत आयोजना गरिने आयोजकले जनाएको छ। प्रदर्शनीको दोस्रो दिन बिजनेस आइडिया पिचिङ कार्यक्रम पनि सञ्चालन हुने छ, जसमा विद्यार्थीहरूले आफ्ना नवप्रवर्तनात्मक परियोजनाहरू प्रस्तुत गर्ने अवसर पाउनेछन्।
रिलायन्स इन्टरनेसनल एकेडेमीका अनुसार यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सहयोग पुर्याउने, अनुसन्धानप्रति अभिप्रेरित गर्ने र प्रविधिसँग प्रत्यक्ष जोडिने वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ। कार्यक्रम चावहिल सरस्वतीनगरस्थित विद्यालय परिसरमै आयोजना भइरहेको छ।
प्रदर्शनीको उद्घाटन सत्र आज बिहान १०ः३० बजे सम्पन्न भएको छ भने समापन समारोह फागुन १ गते दिउँसो १ः३० बजे आयोजना गरिनेछ। आयोजक संस्थाले सबै अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवाला पक्षलाई प्रदर्शनी अवलोकनका लागि आमन्त्रणसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्