२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

नेपाली कांग्रेसको विशेष महाधिवेशनको औचित्य समाप्त : निमा ग्याल्जेन शेर्पा

३ दिन अगाडि

नेपाली कांग्रेसको विशेष महाधिवेशनको औचित्य समाप्त : निमा ग्याल्जेन शेर्पा

Advertisement 1


नेपाली कांग्रेसका नेता तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसको विशेष महाधिवेशनको औचित्य अब समाप्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीको वर्तमान अवस्था र नेतृत्वप्रति जनतामा अपेक्षाअनुसार भरोसा देखिन नसकेको बताएका हुन्।
शेर्पाका अनुसार पछिल्लो समय नेपाली कांग्रेसको नयाँ नेतृत्वप्रति जनतामा देखिनुपर्ने विश्वास र आशा बलियो रूपमा देखिएको छैन। उनले जनताले पार्टीबाट स्पष्ट दृष्टि, भरोसा र परिवर्तनको अपेक्षा गरे पनि त्यसअनुसार परिणाम नदेखिएको उल्लेख गरेका छन्। यही कारण अहिलेको अवस्थामा विशेष महाधिवेशनको औचित्य पनि लगभग समाप्त भइसकेको जस्तो देखिएको उनको भनाइ छ।
उनले अब नेपाली कांग्रेसले नयाँ ढंगले अघि बढ्दै जनतालाई स्पष्ट दिशा, भरोसा र विश्वास दिन सक्नुपर्ने बताएका छन्। पार्टीभित्र नयाँ सोच, नयाँ दिशा र जनतासँग नजिक हुने राजनीति आजको आवश्यकता बनेको उनले उल्लेख गरेका छन्। समयअनुसार पार्टीले आफूलाई सुधार गर्न नसके जनताबाट थप टाढिने जोखिम बढ्ने उनको चेतावनी छ।
शेर्पाले वर्तमान अवस्थालाई विश्लेषण गर्दै नेपाली कांग्रेस भारतको इन्डियन नेशनल कांग्रेस जस्तै कमजोर र दिशाहीन बन्ने खतरा पनि देखिन थालेको बताएका छन्। त्यसैले समयमै संगठनात्मक र नेतृत्वगत सुधार गर्दै कांग्रेसलाई बलियो वैकल्पिक शक्ति बनाउनु जरुरी रहेको उनको धारणा छ।
उनले कांग्रेसले देशका पछाडि पारिएका समुदाय—दलित, जनजाति र मधेसी समुदायबाट पार्टी सभापति तथा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्। यस्तो साहसी र समावेशी निर्णयले मात्र जनतामा कांग्रेसप्रति नयाँ आशा, विश्वास र भरोसा पैदा हुने उनको विश्वास छ।
“सायद धेरैलाई यो कुरा नमिठो पनि लाग्न सक्छ, तर यथार्थ यही हो,” शेर्पाले फेसबुकमा लेखेका छन्। उनले यही यथार्थलाई स्वीकार गर्दै साहसका साथ सुधारको बाटो रोज्नु नै अहिलेको आवश्यकता भएको बताएका छन्।
यसका साथै उनले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संगठनहरू विघटन गरेर नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई पनि स्पष्ट मापदण्ड र नयाँ संरचनाका आधारमा पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ।
समावेशी नेतृत्व, स्पष्ट दृष्टिकोण र संगठनात्मक सुधारबाट मात्र नेपाली कांग्रेसले फेरि जनताको मन जित्न सक्ने शेर्पाको भनाइ छ। अहिलेको चुनौतीलाई अवसरमा बदल्ने साहस कांग्रेसले देखाउनुपर्ने उनको निष्कर्ष छ।

धेरै पढिएको

सम्बन्धित समाचार