२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

आधारशिला एकेडेमीको २१औँ वार्षिकोत्सव भव्य: शैक्षिक उत्कृष्टता र सांस्कृतिक रौनक एकैसाथ

१ हप्ता अगाडि

आधारशिला एकेडेमी को २१औँ वार्षिकोत्सव भव्य, शैक्षिक उत्कृष्टतासँगै सांस्कृतिक झल्को

Advertisement 1


ललितपुर, एकान्तकुना। ललितपुरको एकान्तकुनामा अवस्थित आधारशिला एकेडेमीको २१औँ वार्षिक दिवस तथा शैक्षिक–साँस्कृतिक उत्सव २०८२ शनिबार उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमले विद्यालयको शैक्षिक प्रतिबद्धता र सांस्कृतिक विविधतालाई एकैसाथ उजागर गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एकेडेमीका प्राचार्य गणेश गिरी ले विद्यालयको मूल लक्ष्य केवल पाठ्यपुस्तकमुखी शिक्षा नभई व्यवहारिक, नैतिक र जीवनोपयोगी शिक्षा प्रदान गर्नु रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी विद्यार्थीलाई परीक्षा केन्द्रित मात्र होइन, जीवन केन्द्रित शिक्षा दिन चाहन्छौं।

बदलिँदो समयअनुसार प्रविधिमैत्री शिक्षण पद्धति, अनुशासित वातावरण र दक्ष शिक्षकमार्फत विद्यार्थीलाई सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने हाम्रो प्रयास निरन्तर जारी छ।” उहाँले अभिभावकहरूको विश्वास र सहयोगकै कारण विद्यालयले हरेक वर्ष शैक्षिक उपलब्धि हासिल गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उत्सवका अवसरमा विद्यार्थीहरूले नेपालको विभिन्न संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने व्यंग्यात्मक र जनचेतनामूलक नाटकमार्फत सामाजिक सन्देश प्रवाह गरेका थिए। शैक्षिक वर्ष २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट जीपीए ल्याई कक्षामा प्रथम हुने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी विद्यालयस्तरीय गायन तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पनि मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो।


कार्यक्रमलाई थप आकर्षक बनाउन हास्यकलाकार दमन रुपाखेती (घर ज्वाई) र लेखान्त भुषाल (घिरौले) ले हास्य प्रस्तुति दिएका थिए भने गायक सुमन बिटी ले आफ्ना गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक शम्भु सुवेदीले गर्नुभएको थियो। समग्रमा, शैक्षिक उत्कृष्टता, अनुशासन र सांस्कृतिक चेतनालाई जोड दिने यस उत्सवले आधारशिला एकेडेमीको सुदृढ शैक्षिक पहिचानलाई पुनः स्थापित गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार