२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

गोकर्णेश्वर लाइट एकेडेमीमा शिक्षा र लोकतन्त्रको ऐतिहासिक शैक्षिक प्रदर्सनी ।

२ हप्ता अगाडि

गोकर्णेश्वर लाइट एकेडेमीमा शिक्षा र लोकतन्त्रको ऐतिहासिक सङ्गम

Advertisement 1

गोकर्णेश्वर लाइट एकेडेमीको विज्ञान तथा शैक्षिक प्रदर्शनीसँगै नमुना मतदान कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ / गोकर्णेश्वर लाइट एकेडेमी ,
गोकर्णेश्वर लाइट एकेडेमीले आयोजना गरेको विज्ञान तथा शैक्षिक प्रदर्शनी तथा नमुना मतदान कार्यक्रम उत्साहजनक सहभागिताकाबिच भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीलाई व्यवहारिक शिक्षा, वैज्ञानिक सोच र लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा करिब १५०० देखि २००० अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नमुना मतदान प्रक्रियामा मात्र करिब १००० अभिभावकले सक्रिय सहभागिता जनाएका थिए।


कार्यक्रमका लागि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल प्रमुख अतिथिका रूपमा आमन्त्रित हुनुहुन्थ्यो। विशेष कार्यव्यस्तताका कारण उहाँ उपस्थित हुन नसके पनि नगरको प्रतिनिधित्व गर्दै उपमेयर सान्नानी लामाको गरिमामय उपस्थिति रहेको थियो। उहाँले विद्यार्थीहरूले प्रस्तुत गरेका विज्ञान परियोजना तथा नमुना मतदान प्रक्रियाको अवलोकन गर्दै विद्यालयको प्रयासको प्रशंसा गर्नुभएको थियो।
लोकतान्त्रिक अभ्यासको नमुना
कार्यक्रमको मुख्य आकर्षण नमुना मतदान कक्षा ८ (मुनाल सेक्सन) र कक्षा ९ (मुनाल सेक्सन) का विद्यार्थीहरूले सञ्चालन गरेका थिए। मतदाता दर्ता, परिचयपत्र परीक्षण, मतपत्र प्रयोग, मतपेटिकामा मत खसाल्ने प्रक्रिया तथा मतगणनासम्मको सम्पूर्ण चरणलाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको थियो। यस अभ्यासले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारी बोध र व्यवस्थापन सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।
विज्ञान र सिर्जनशीलताको प्रदर्शन
विज्ञान तथा शैक्षिक प्रदर्शनी अन्तर्गत विद्यार्थीहरूले विभिन्न वैज्ञानिक परियोजना, अनुसन्धानमूलक मोडेल तथा सिर्जनात्मक सामग्री प्रदर्शन गरेका थिए। अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुतीकरण, अनुसन्धान क्षमता र समस्या समाधान सीपको खुलेर प्रशंसा गरेका थिए।
कक्षा १० का विद्यार्थीहरूले सञ्चालन गरेको फुड स्टल कार्यक्रमको अर्को आकर्षण बनेको थियो। यसले विद्यार्थीहरूमा उद्यमशीलता, आर्थिक व्यवस्थापन तथा समूहगत कार्यकौशल विकासमा सहयोग पुर्‍याएको विद्यालयले जनाएको छ।

Advertisement 3


प्रविधिसहितको व्यवस्थापन
कार्यक्रमलाई थप प्रभावशाली र व्यवस्थित बनाउन ड्रोनमार्फत सम्पूर्ण गतिविधिको दृश्य कैद गरिएको थियो, जसले कार्यक्रमको भव्यता झल्काएको थियो।
विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, “हामी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक अभ्यासमा जोड दिइरहेका छौँ। विज्ञान र लोकतान्त्रिक अभ्यासलाई सँगसँगै अघि बढाउँदा विद्यार्थी जिम्मेवार, सक्षम र सचेत नागरिकका रूपमा विकसित हुन्छन्।”


कोअर्डिनेटरद्वय सन्जय खनाल र राज घिमिरेले संयुक्त रूपमा प्रतिक्रिया दिँदै भने, “अभिभावकको उत्साहजनक सहभागिता, विद्यार्थीहरूको सक्रियता र सम्पूर्ण विद्यालय परिवारको सहकार्यले कार्यक्रम ऐतिहासिक बनेको छ। आगामी दिनमा अझ व्यापक र प्रभावकारी शैक्षिक गतिविधि सञ्चालन गर्नेछौँ।”
शिक्षा, विज्ञान र लोकतान्त्रिक अभ्यासलाई एउटै मञ्चमा उतार्दै विद्यालयले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको अभिभावकहरूले बताएका छन्। उक्त कार्यक्रमले गोकर्णेश्वर नगर क्षेत्रमै शैक्षिक गतिविधिको नयाँ मापदण्ड स्थापित गरेको विश्वास गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार