गोठाटार तेक्वान्दो डोजाङ्गको जुनियर ग्रेडिङ्ग सम्पन्न, ३२ खेलाडी उत्तीर्ण
Advertisement 1

गोठाटार तेक्वान्दो डोजाङ्गले नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार नियमित प्रशिक्षणमा रहेका ३२ जना जुनियर खेलाडीहरूको बेल्ट टेस्ट (ग्रेडिङ्ग) सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त ग्रेडिङ्गमा १७ जना पुरुष र १५ जना महिला खेलाडीहरूको सहभागिता रहेको थियो।
परीक्षा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा गोठाटार तेक्वान्दो डोजाङ्गका प्रमुख प्रेम बहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सहायक प्रमुख प्रशिक्षक प्रशान्त भण्डारीले अभिभावकहरूको उपस्थितिमा खेलाडीहरूको शारीरिक क्षमता, अनुशासन र तेक्वान्दो सीपको मूल्याङ्कन गर्दै परीक्षा सञ्चालन गर्नुभएको थियो।
ग्रेडिङ्गमा महिला तर्फ डिजाश्री थापा र पुरुष तर्फ मिलन सापकोटा उत्कृष्ट खेलाडी घोषित भएका छन्। परीक्षामा सहभागी सबै ३२ जना खेलाडीहरू सफलतापूर्वक उत्तीर्ण हुन सफल भएको डोजाङ्गले जनाएको छ, जसले नियमित अभ्यास र प्रशिक्षकहरूको मेहनतलाई उजागर गरेको छ।
यसै अवसरमा गोठाटार तेक्वान्दो डोजाङ्गबाट दोस्रो डान परीक्षामा सहभागी हुन लागेका खेलाडीहरू आयुसा बराल, भूमिका बोहरा र बिनिसा बोहरालाई सफलताको शुभकामना सहित बिदाइ गरिएको जानकारी गराइएको छ। डोजाङ्गले आगामी दिनमा पनि अनुशासित र सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्