२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

सुशासन, सडक र सिंचाइः तामाङको तीन मुख्य आधार

२ हप्ता अगाडि

सुशासनदेखि समृद्धिसम्मः सिन्धुपाल्चोक–२ मा एमालेको स्पष्ट प्रतिबद्धता, सूर्यमा मत अपिल

Advertisement 1


सिन्धुपाल्चोक–२। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिन्धुपाल्चोक क्षेत्र नं. २ का मतदातामाझ आफ्नो विस्तृत प्रतिबद्धता सार्वजनिक गरेको छ। उम्मेदवार शेरबहादुर तामाङ ले सुशासन, पूर्वाधार विकास, कृषि आत्मनिर्भरता र जनजीविकालाई केन्द्रमा राखेर स्पष्ट कार्ययोजना अघि सारेका छन्।


. सुशासन र पारदर्शितामा कडाइ
एमालेले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुनी व्यवस्था गर्न पहल गर्ने जनाएको छ। आर्थिक अनियमितता रोक्न ‘कमिसन कानुन’ को अनिवार्यता, सार्वजनिक खरिद ऐनमा समयानुकूल संशोधन र विकासमैत्री कानुन निर्माणमा जोड दिइनेछ। २०४८ साल यताका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। “भ्रष्टाचारमुक्त शासन नै समृद्धिको आधार हो,” तामाङको भनाइ छ।
२. समृद्ध पूर्वाधार र आर्थिक विकास
ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि गर्दै घरायसी प्रयोजनका लागि निःशुल्क विद्युतको पहल र अतिरिक्त विद्युत निर्यात गर्ने योजना अघि सारिएको छ। मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका सामाजिक तथा भौतिक पूर्वाधार शतप्रतिशत निर्माण गरिने जनाइएको छ।
त्यसैगरी सुनकोशी तेस्रो जलाशय जलविद्युत आयोजना निर्माण कार्य थालनीमा पहल र नेतृत्व लिने प्रतिबद्धता गरिएको छ। हिमालयन पर्यटन मार्ग निर्माण, नयाँ पर्यटकीय गन्तव्य पहिचान र जिल्लालाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ।
प्रमुख सडक विस्तार, “एक वडा एक सडक कालोपत्रे” अभियान, योजनाबद्ध शहरीकरणको गुरुयोजना, सिन्धु–फट्केश्वर सुरूङ मार्ग तथा इन्द्रावती करिडोरलाई व्यावसायिक हवका रूपमा विकास गर्ने योजना पनि समेटिएको छ।
३. जनजीविका र कृषि आत्मनिर्भरता
कृषि क्षेत्रलाई आत्मनिर्भरताको आधार मान्दै गाँजा खेती तथा स्थानीय उत्पादनको ब्रान्डिङमा कानुनी मान्यता सहित व्यावसायिक प्रवर्द्धन गरिने उल्लेख छ। राज्यको तर्फबाट शतप्रतिशत स्वास्थ्य बिमाको सुनिश्चितता, विद्यालय सञ्चालनलाई प्रभातकालीन बनाई दिवा समयमा प्राविधिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने नीति अघि सारिएको छ।
बाँदर तथा वन्यजन्तुबाट बाली जोगाउन ‘फ्रुट फरेस्ट’ अवधारणा र वन्यजन्तुको आहार व्यवस्थापन, व्यावसायिक कृषि उत्पादनमार्फत खाद्यान्नमा आत्मनिर्भरता तथा निर्यात वृद्धि, र “एक वडा पाँच पोखरी” मार्फत पानी स्रोत व्यवस्थापन जस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ।
उम्मेदवार तामाङले “समृद्ध नेपाल निर्माणका लागि तपाईंको अमूल्य मत सूर्य चिन्हमा” भनी मतदातासँग अपिल गरेका छन्। निर्वाचन परिचालन समितिका अनुसार घरदैलो, अन्तरक्रिया र सार्वजनिक भेटघाटमार्फत यी प्रतिबद्धताहरू जनतासामु पुर्‍याउने अभियान तीव्र बनाइएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार