सिन्धुपाल्चोक–२ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै, युवराज दुलालको घरदैलो अभियान तीव्र
Advertisement 1

सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दो छ। यसपटकको प्रतिस्पर्धालाई केवल मतको लडाइँ नभई विकासको निरन्तरता र स्थायित्वको बहसका रूपमा प्रस्तुत गर्दै नेकपाका उम्मेदवार युवराज दुलाल “शरद” ले आफ्नो अभियान योजनाबद्ध र सक्रिय ढंगले अघि बढाएका छन्।
औपचारिक आमसभाभन्दा घरदैलो भेटघाट र साना अन्तरक्रियात्मक कार्यक्रमलाई प्राथमिकता दिँदै दुलाल अहिले टोल–टोलमा मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। “नेतृत्व जनतासँग नजिक हुँदा मात्र विश्वास बलियो हुन्छ,” उनले हालैको एक भेटघाटमा भने। उनका अनुसार जनताका वास्तविक समस्या बुझ्न र समाधानको ठोस खाका बनाउन प्रत्यक्ष छलफल नै सबैभन्दा प्रभावकारी माध्यम हो।
दुलालले पूर्वाधार विकासलाई अभियानको केन्द्रमा राखेका छन्। सुरु भइसकेका सडक स्तरोन्नति, खानेपानी विस्तार, सिँचाइ सुधार तथा कृषि उत्पादनको बजार सुनिश्चिततालाई निरन्तरता दिने उनको प्रतिबद्धता छ। साथै, युवालाई वैदेशिक रोजगारीको विकल्प स्वरूप स्वरोजगार र उद्यमशीलतासँग जोड्ने विशेष कार्यक्रम ल्याउने उनले बताएका छन्।
उनले अघि सारेको “विकासको बाकस” अवधारणालाई यसपटक विस्तारित र परिणाममुखी ढाँचामा कार्यान्वयन गर्ने योजना सार्वजनिक गरेका छन्। “घोषणा गरेर होइन, काम पूरा गरेर देखाउने समय आएको छ,” दुलालको भनाइ छ। उनले दीर्घकालीन योजना, पारदर्शी कार्यान्वयन र नियमित अनुगमनलाई प्राथमिकतामा राख्ने उल्लेख गरेका छन्।
घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी सिर्जना, कृषि उपजको उचित मूल्य, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवाको मागलाई जोडदार रूपमा उठाएका छन्। दुलालले ती सबै सुझावलाई आफ्नो नीतिगत प्राथमिकतामा समेट्ने प्रतिबद्धता जनाएका छन्।
प्रदेश तहमा जिम्मेवारी सम्हालिसकेका अनुभवलाई संघीय स्तरमा प्रयोग गर्दै क्षेत्र नम्बर २ लाई नमूना विकास क्षेत्र बनाउने उनको दाबी छ। उनका समर्थकहरू विकासको निरन्तरता, अनुभव र कार्यान्वयन क्षमताकै आधारमा मतदाताको विश्वास पुनः प्राप्त हुने विश्वास व्यक्त गर्छन्।
क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा एजेन्डा–केन्द्रित बहस तीव्र बन्दै गएको छ। आगामी निर्वाचनले यस क्षेत्रको विकास यात्रालाई कस्तो दिशा दिनेछ भन्ने प्रश्न मतदातामाझ मुख्य चासोको विषय बनेको छ।


प्रतिक्रिया दिनुहोस्