शेरबहादुर तामाङको पक्षमा बढ्दो जनलहर: सिन्धुपाल्चोक–२ मा उत्साहपूर्ण घरदैलो, जितको बलियो संकेत
सिन्धुपाल्चोक–२ ।
Advertisement 1

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिएको छ। यसैक्रममा नेकपा एमालेका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार बनेका शेरबहादुर तामाङको पक्षमा उल्लेखनीय जनलहर देखिएको छ। गाउँ–गाउँ, टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका तामाङलाई स्थानीय बासिन्दाले उत्साह, माया र विश्वासका साथ स्वागत गरिरहेका छन्।

घरदैलो अभियानका क्रममा देखिएको भीड, युवाहरूको सक्रिय सहभागिता र ज्येष्ठ नागरिकहरूको आत्मीय समर्थनले यसपटक उहाँप्रतिको भरोसा अझ बलियो बनेको संकेत दिएको छ। “हामीले काम देखेका छौं, अब फेरि अवसर दिनुपर्छ,” स्थानीयहरुले घरदैलो कार्यक्रममा बताएका छन्। अर्का युवा मतदाताले भने, “हामीलाई विकास र स्पष्ट अडान चाहिएको छ, त्यसका लागि तामाङ नै उपयुक्त उम्मेदवार हुनुहुन्छ।”
Advertisement 2

वि.सं. २०७० र २०७४ को निर्वाचनमा भारी मतका साथ विजयी भएका तामाङ वि.सं. २०७९ मा पाँचदलीय गठबन्धनसँग पराजित हुनुभएको थियो। तर यसपटक दलहरू छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएका कारण उहाँको जितको सम्भावना बलियो रहेको स्थानीयहरू बताउँछन्। “योपटक परिस्थिति फरक छ, जनमत उहाँकै पक्षमा छ,” एक महिला मतदाताको भनाइ छ।

भ्रष्टाचारविरुद्ध स्पष्ट अडान राख्ने नेताका रूपमा चिनिनुभएका तामाङले सरकारी पदाधिकारीहरूको सम्पत्ति सार्वजनिक हुनुपर्ने, स्थानीय उत्पादनलाई वैधानिकता दिई प्रवर्द्धन गर्नुपर्ने जस्ता विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। स्वास्थ्य मन्त्री र कानून मन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका निर्णयहरूलाई स्थानीयले सकारात्मक रूपमा स्मरण गर्ने गरेका छन्।
सिन्धुपाल्चोक–२ मा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य पूर्वाधार विकासमा उहाँको भूमिका उल्लेखनीय रहेको स्थानीयको दाबी छ। “हाम्रो गाउँमा सडक र खानेपानीको काम अघि बढाउन उहाँकै पहल थियो,” एक स्थानीय अगुवाले बताएका छन्।
सरल जीवनशैली, सालिन र भद्र व्यवहार तथा सबैसँग सहज रूपमा घुलमिल हुने स्वभाव तामाङका विशेषता मानिन्छन्। घरदैलोका क्रममा देखिएको आत्मीयता र प्रत्यक्ष संवादले मतदातामा थप विश्वास जगाएको देखिन्छ।
Advertisement 3

हाल सञ्चालन भइरहेको घरदैलो कार्यक्रममा के युवा के वृद्ध—सबै वर्गका नागरिकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। “यसपटक हाम्रो मत विकास र स्थायित्वका लागि,” भन्दै धेरै स्थानीय खुलेर समर्थन जनाइरहेका छन्। अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको र जनसमर्थन थप मजबुत हुँदै गएको दृश्यले सिन्धुपाल्चोक–२ मा तामाङको जितको सम्भावना अत्यन्त प्रबल रहेको स्थानीयको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्