शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकतामा: काभ्रे–२ मा राजन थापाको प्रतिबद्धता
Advertisement 1

काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि राजन थापा ले आफ्नो विस्तृत प्रतिबद्धता सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्रता दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का तर्फबाट उम्मेदवार बनेका थापाले “बचाऔं नेपालको स्वाभिमान, हँसिया चिन्हमा गरौं मतदान” भन्ने नारासहित घरदैलो तथा कोणसभा कार्यक्रम सञ्चालन गरिरहेका छन्। उनले आफू कुनै व्यक्तिगत स्वार्थका लागि नभई समग्र क्षेत्रको विकास र जनताको अधिकारका लागि चुनावी मैदानमा उत्रिएको बताएका छन्।
काभ्रेपलाञ्चोक–२ लाई भौगोलिक, सांस्कृतिक र सामाजिक विविधताले भरिपूर्ण क्षेत्र भन्दै उनले यसलाई ‘Mini Nepal’ का रूपमा व्याख्या गरेका छन्। भुम्लु, बेथान्चोक, मण्डनदेउपुर, पाँचखाल, बनेपा, धुलिखेल र पनौतीलगायतका क्षेत्रमा आधारभूत पूर्वाधार, खानेपानी, सडक स्तरोन्नति र कृषि आधुनिकीकरणको आवश्यकता रहेको उनले औंल्याए। विशेष गरी ग्रामीण भेगमा स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षामा पहुँच अझै कमजोर रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानका लागि स्पष्ट योजना अघि सारेका छन्।
शिक्षा र स्वास्थ्यलाई राज्यको प्राथमिक दायित्व बनाउनुपर्ने उनको भनाइ छ। काभ्रेलाई उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्न काठमाडौँ विश्वविद्यालय सँग सहकार्य गरी प्राविधिक तथा सीपमूलक कार्यक्रम विस्तार गर्ने, अनुसन्धानमुखी शिक्षा प्रवर्द्धन गर्ने र निजी विद्यालयको शुल्क नियन्त्रणका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन्। त्यस्तै, धुलिखेल अस्पताल को सेवाक्षेत्र विस्तार गरी दुर्गम बस्तीमा नियमित स्वास्थ्य शिविर, मातृ–शिशु सेवा र आपत्कालीन एम्बुलेन्स सेवा सुदृढ बनाउने योजना उनले सार्वजनिक गरेका छन्।
Advertisement 2

रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै थापाले कृषि, पर्यटन र साना उद्योगलाई जोड दिने बताएका छन्। धुलिखेल–नमोबुद्ध–पनौतीलाई समेट्ने सांस्कृतिक तथा धार्मिक पर्यटन सर्किट निर्माण, बनेपास्थित आईटी पार्क पूर्ण सञ्चालन, र पाँचखाल विशेष आर्थिक क्षेत्र (SEZ) लाई लगानीमैत्री वातावरणसहित अघि बढाउने उनको योजना छ। कृषकलाई मल–बिउ सहज उपलब्ध गराउने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने र सहकारी प्रणाली सुदृढ गर्ने विषयमा उनले जोड दिएका छन्।
पुराना दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै थापाले पारदर्शी शासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी बजेट विनियोजनका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले ‘एक घर, एक धारा’, ‘धुलो–हिलोमुक्त सडक’, ‘युवालाई रोजगारी’ जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै आफ्नो उम्मेदवारी किसान, श्रमिक, महिला र युवाको साझा आवाज भएको दाबी गरेका छन्। उनले मतदातालाई सचेत निर्णय गर्न आग्रह गर्दै समृद्ध काभ्रे निर्माणका लागि सहकार्य गर्न अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्