समाजसेवाबाट राजनीतिसम्म : युवा नेता राम सिं तामाङको प्रेरक यात्रा
Advertisement 1

सिन्धुपाल्चोक जिल्लाको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको हेलम्बु गाउँपालिका वडा नं. ३, पाल्चोक यु–श्हयुङ गाउँमा जन्मिएका राम सिं तामाङ सानै उमेरदेखि समाजसेवामा रुचि राख्ने कर्मशील युवा व्यक्तित्व हुन्। ग्रामीण परिवेशमा हुर्किएका उनले गाउँ–समाजका समस्या नजिकबाट नियाले र ती समस्याको समाधानका लागि निरन्तर सक्रिय हुँदै आए।

बाल्यकालदेखि नै सामाजिक भावना बोकेका तामाङले युवाहरूलाई एकताबद्ध बनाउने उद्देश्यले विभिन्न समयमा युवा क्लब तथा समूहहरू गठन गरे। ती क्लबमार्फत खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरी उनले गाउँका युवाहरूलाई सकारात्मक बाटोमा डोर्याए। युवाहरूलाई कुलतबाट टाढा राख्दै सामाजिक कार्यमा लगाउन उनले खेलेको भूमिका गाउँभरि प्रशंसनीय रह्यो।
Advertisement 2

समाज रूपान्तरणको यात्रामा अघि बढ्दै उनले हेलम्बु गाउँपालिका–३ पाल्चोक यु–श्हयुङ गाउँमा गुम्बा समिति गठन गराउन नेतृत्वदायी भूमिका निर्वाह गरे। गुम्बा निर्माण, संरक्षण तथा धार्मिक कार्यक्रम सञ्चालनमा सक्रिय रहेर उनले गाउँमा धार्मिक तथा सांस्कृतिक एकता मजबुत बनाउन ठूलो योगदान पुर्याए। उनका यी प्रयासहरूले स्थानीय समुदायलाई थप संगठित र सचेत बनायो।
२०७२ सालको महाविनाशकारी भूकम्पका बेला राम सिं तामाङ अग्रपंक्तिमा रहेर उद्धार कार्यमा खटिए। घर भत्किएर पुरिएका घाइतेहरूलाई उद्धार गर्ने, राहत सामग्री वितरण गर्ने तथा भूकम्पमा परी मृत्यु भएकाहरूको शव व्यवस्थापनमा उनले गरेको साहसिक कार्यले उनलाई निडर र संवेदनशील समाजसेवीका रूपमा स्थापित गरायो। विपद्को समयमा देखाएको यो मानवीय भूमिका सिन्धुपाल्चोकवासीले आज पनि सम्मानका साथ सम्झन्छन्।

सामाजिक कार्यका अतिरिक्त उनले धार्मिक हस्तकला क्षेत्र मा समेत उल्लेखनीय योगदान गरेका छन्। राम सिं तामाङको पहल र नेतृत्वमा गाउँका २५ जना युवाहरूलाई हस्तकला सम्बन्धी सीप तालिम दिइयो, जसबाट ती युवाहरू आज रोजगारीमा आबद्ध भएका छन्। परम्परागत सीपलाई व्यावसायिक रूप दिँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने यो अभियानले गाउँमा आर्थिक गतिविधि बढाउनुका साथै युवाहरूलाई आत्मनिर्भर बनाएको छ।
कला–संस्कृतिप्रति पनि गहिरो रुचि राख्ने तामाङ विभिन्न गीत–संगीत क्षेत्रमा सक्रिय छन्। केही म्युजिक भिडियोहरूमा मोडलिङसमेत गरेका उनले सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा पनि योगदान दिएका छन्।
Advertisement 3

हाल उनी सिन्धुपाल्चोक जिल्लाकै पवित्र धार्मिक स्थल श्री जयवागेश्वरी संरक्षण समिति (पाल्चोकी माई मन्दिर) का सचिवका रूपमा कार्यरत छन्। विगत तीन वर्षदेखि मन्दिरको भौतिक संरचना सुधार, व्यवस्थापन सुदृढीकरण तथा धार्मिक वातावरण निर्माणमा उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। मन्दिर क्षेत्रमा रहेका विभिन्न समस्या समाधान गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उनको सक्रियता देखिन्छ।

देशमा बढ्दो भ्रष्टाचार, बेथिति र विकृतिविरुद्ध पनि राम सिं तामाङ सधैं अग्रपंक्तिमा उभिँदै आएका छन्। “यो देश नेपालमा वास्तविक परिवर्तन हुनुपर्छ, देश समृद्ध हुनुपर्छ, भ्रष्टाचारलाई पूर्ण रूपमा निर्मुल गर्नुपर्छ” भन्ने स्पष्ट अडानका साथ उनले विभिन्न आन्दोलन र सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन्। अन्याय र बेथितिविरुद्ध आवाज उठाउने साहसका कारण उनी युवाहरूबीच लोकप्रिय बनेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राष्ट्रप्रेमी सोच र विकासमुखी नेतृत्वबाट प्रेरित हुँदै राम सिं तामाङ सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। राजनीति नै प्रभावकारी समाजसेवाको माध्यम हो भन्ने विश्वासका साथ उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

उनको ठम्याइ छ—विगतका राजनीतिक दलहरूले सिन्धुपाल्चोक २ मा कामभन्दा बढी आश्वासन मात्र बाँडे। शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा अपेक्षित काम हुन सकेन। अब सिन्धुपाल्चोक २ लाई काम गर्ने, इमानदार र परिणाममुखी नेतृत्व आवश्यक छ।
राजनीतिक माध्यमबाट वास्तविक समाजसेवा गर्दै सिन्धुपाल्चोक २ लाई विकसित, समृद्ध र नमूना क्षेत्र बनाउने उनको स्पष्ट योजना छ। युवाहरूलाई सीपमूलक तालिम, रोजगारी सिर्जना, कृषि र पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा–स्वास्थ्य तथा भ्रष्टाचारमुक्त स्थानीय शासन उनका प्रमुख एजेन्डा हुन्।

निडर, इमानदार, कर्मशील र समाजप्रति समर्पित युवा नेता राम सिं तामाङ को उम्मेदवारीले सिन्धुपाल्चोक क्षेत्र नं. २ को चुनावी माहोल थप रोचक बनेको छ। समाजसेवाबाट खारिएका तामाङ आज परिवर्तन र विकासका नयाँ आशाका रूपमा जनतामाझ उभिएका छन्।
“आश्वासन होइन – काम,
भ्रष्टाचार होइन – सुशासन,
भाषण होइन – परिणाम”
यही मूलमन्त्रका साथ युवा नेता राम सिं तामाङ सिन्धुपाल्चोक २ को समग्र विकास र उज्यालो भविष्य निर्माणको अभियानमा निरन्तर अघि बढिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्