२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

क्षमता विकास र आर्थिक पारदर्शितामा केन्द्रित दुई दिने खानेपानी कार्यक्रम सुरु

१ महिना अगाडि

क्षमता विकास र पारदर्शितामार्फत खानेपानी संस्थाको सुदृढीकरणतर्फ पहल

Advertisement 1


काठमाडौं ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान केन्द्र र राष्ट्रिय साना सहरी खानेपानी महासंघको सहकार्यमा दुई दिने क्षमता विकास, लिडरशिप र आर्थिक पारदर्शिता सम्बन्धी कार्यक्रम सुरु भएको छ। कार्यक्रमलाई साना सहरी खानेपानी संस्थाहरूको संस्थागत सुदृढीकरणतर्फको महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलिले यस कार्यक्रमलाई साधारण तालिम मात्र नभई संस्थागत सुधारको नयाँ चरणको सुरुवातका रूपमा व्याख्या गरे।
अध्यक्ष वलिले भने,
“क्षमता विकास, नेतृत्व सुदृढीकरण र आर्थिक पारदर्शिता बिना खानेपानी संस्थाहरू दिगो बन्न सक्दैनन्। यो कार्यक्रम संस्थागत कमजोरी पहिचान गर्दै सुशासन र जनविश्वास मजबुत बनाउने दिशामा केन्द्रित छ।”
उनका अनुसार साना सहरी खानेपानी संस्थाहरूले सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका भए पनि व्यवस्थापन, नेतृत्व र वित्तीय अनुशासनका क्षेत्रमा सुधार आवश्यक छ। “सेवा प्रवाहसँगै सुशासन सुनिश्चित गर्न सके मात्र संस्थाहरू दीर्घकालीन रूपमा सफल हुन्छन्,” उनले स्पष्ट पारे।
दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, आर्थिक पारदर्शिता, लेखा व्यवस्थापन र जवाफदेहितासम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएका छन्। कार्यक्रममा सहभागिहरूबीच अन्तरक्रिया, अनुभव आदान–प्रदान र व्यवहारिक अभ्यास पनि समेटिएको छ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान केन्द्रका प्रतिनिधिहरूले सुदृढ संस्था निर्माणमार्फत स्थानीय तहमा खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा देशका विभिन्न साना सहरी क्षेत्रबाट आएका खानेपानी उपभोक्ता समितिका पदाधिकारी, प्राविधिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार