२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

गलत प्रक्रियाबाट बनेको गगन थापा नेतृत्वको समितिलाई मान्यता दिँदैनौँ : निमा ग्याल्जेन शेर्पा

२ महिना अगाडि

अवैधानिक ‘विशेष महाधिवेशन’बाट बनेको समिति अस्वीकार्य : निमा ग्याल्जेन शेर्पा

Advertisement 1


काठमाडौं । नेपाली कांग्रेसभित्र हालै सम्पन्न भनिएको ‘विशेष महाधिवेशन’ प्रक्रिया अवैधानिक, अपारदर्शी र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शेर्पाले विशेष महाधिवेशनको नाममा पार्टी संरचना कब्जा गर्ने प्रयास खतरनाक प्रवृत्ति भएको टिप्पणी गरेका छन्। उनले यस्तो प्रक्रियाबाट बनेको समितिलाई आफूहरूले स्वीकार नगर्ने स्पष्ट पारेका छन्।
उनका अनुसार गलत तरिकाले पार्टी कब्जा गरी उम्मेदवार छनोट गरिएको अवस्थामा सच्चा कांग्रेसजनले त्यस्ता उम्मेदवारका पक्षमा भोट माग्नुपर्ने कुनै नैतिक वा राजनीतिक बाध्यता हुँदैन।
“विशेष महाधिवेशनको नाममा गरिएको यो अभ्यासले पार्टीभित्र अराजकता, अन्याय र अनिश्चितताको ढोका खोल्छ,” शेर्पाले चेतावनी दिएका छन्।
शेर्पाले उक्त विशेष महाधिवेशनमा जम्मा १३३७ जना मात्र भौतिक रूपमा उपस्थित रहेको दाबी गर्दै यति सीमित संख्याले सम्पूर्ण पार्टी नेतृत्व परिवर्तन गर्न नसक्ने जिकिर गरे।
“कसले, कसरी र कुन आधारमा अधिकार प्राप्त गर्‍यो भन्ने विषय नै गम्भीर रूपमा शंकास्पद छ। यो विषयमा म प्रमाणसहित बोल्न सक्छु,” उनले उल्लेख गरेका छन्।
उनको आरोप अनुसार महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसमेत विधिवत् रूपमा भेरिफिकेसन नगरी निर्वाचन आयोगबाट मान्यता दिइएको छ, जुन लोकतान्त्रिक अभ्यास र पार्टी विधान दुवैको उल्लङ्घन हो।
उनले प्रश्न उठाउँदै भनेका छन्,
“कांग्रेस केन्द्रीय समितिले नबोलाएको विशेष महाधिवेशन दुई जना महामन्त्रीले बोलाउन पाउने व्यवस्था नेपाली कांग्रेसको विधानको कुन धारामा छ? यदि छ भने सार्वजनिक रूपमा देखाइयोस्।”
शेर्पाले अवैधानिक प्रक्रियाबाट बनेको हालको समितिले बाँडेको टिकटबाट उम्मेदवार बनेकाहरू नैतिक रूपमा वैध नहुने दाबी पनि गरेका छन्।
“यस्ता उम्मेदवारका लागि भोट माग्नुपर्ने कुनै बाध्यता छैन। हाम्रो संघर्ष कुनै व्यक्तिविरुद्ध होइन, गलत प्रवृत्तिविरुद्ध हो,” उनले स्पष्ट पारे।
उनले आफूहरूको आवाज पार्टी बिगार्नका लागि नभई पार्टी जोगाउनका लागि भएको उल्लेख गर्दै सच्चा कांग्रेस संविधान, विधान र सिद्धान्तको पक्षमा उभिनुपर्ने बताए।
“गलत तरिकाले कब्जा गरिएको पार्टी संरचनालाई स्वीकार गर्न सकिँदैन,” उनको भनाइ छ।
कांग्रेसका संस्थापकहरूको आदर्श र सिद्धान्तमा विश्वास गर्ने नेताहरूले यस्तो प्रक्रियाबाट आएको टिकट लिनु नै ठूलो भूल भएको टिप्पणी गर्दै शेर्पाले महाधिवेशन गरेर पनि चुनाव नलड्ने नेताहरूको भूमिकाप्रति समेत प्रश्न उठाएका छन्।
अन्त्यमा उनले सम्पूर्ण कांग्रेसजनलाई सचेत रहन आग्रह गर्दै भनेका छन्,
“गलतलाई अस्वीकार गरौँ — काङ्ग्रेस जोगाऔँ।”
उक्त धारणा नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

धेरै पढिएको

सम्बन्धित समाचार