२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

भोटेकोशी गाउँपालिकामा पहिलो पटक तिब्बती र पश्चिमी चिकित्सा संयुक्त निःशुल्क स्वास्थ्य शिविर

३ महिना अगाडि

भोटेकोशी गाउँपालिकामा पहिलो पटक तिब्बती र पश्चिमी चिकित्सा संयुक्त निःशुल्क स्वास्थ्य शिविर
तीन वडामा तीन दिनसम्म सेवा

Advertisement 1

सिन्धुपाल्चोक । हिमाली भेगमा बसोबास गर्ने नागरिकहरूको स्वास्थ्य समस्यालाई प्राथमिकतामा राख्दै भोटेकोशी गाउँपालिकामा पहिलो पटक तिब्बती परम्परागत चिकित्सा र पश्चिमी आधुनिक चिकित्सा प्रणालीलाई एकैसाथ समेटेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

यो शिविर अरनिको समाज र मैत्री संघ (Friendship Association) को संयुक्त आयोजनामा तथा भोटेकोशी गाउँपालिकाभित्रका तीन वटा वडाहरू र स्थानीय संघ संस्थाको समन्वयमा आयोजना हुन लागेको हो। यसलाई गाउँपालिकाको स्वास्थ्य सेवामा ऐतिहासिक र नयाँ पहलका रूपमा लिइएको छ।

Advertisement 3

आयोजकका अनुसार स्वास्थ्य शिविर २०८२ साल पुस ४ गते शुक्रबार भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तिकोट, पुस ५ गते शनिबार वडा नं. ४ सुनखानी र पुस ६ गते आइतबार वडा नं. ३ स्थित ड्राइपोर्टमा सञ्चालन हुनेछ। शिविर हरेक दिन बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ भने दर्ता समय दिउँसो १ बजेसम्म तोकिएको छ। दुर्गम तथा हिमाली बस्तीका नागरिकलाई सहज पहुँच दिलाउने उद्देश्यले तीन फरक वडामा शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

शिविरमा सामान्य स्वास्थ्य जाँच अन्तर्गत रुघा, खोकी, ज्वरो, पेट तथा बाल रोग सम्बन्धी सेवा डा. मदन श्रेष्ठ, डा. जितेन्द्र काजी श्रेष्ठ र डा. दीपक राजभण्डारीले प्रदान गर्नेछन्।

शिविरको विशेष आकर्षणका रूपमा हिमाली क्षेत्रमा चर्चित कुन्फेन (Kunphen) तिब्बती चिकित्सा केन्द्रका चिकित्सकहरूको सहभागिता रहनेछ। कुन्फेन तिब्बती चिकित्सा केन्द्रका विशेषज्ञ डा. निमा छिरिङ तथा चीनको सिजाङ (Xi Zang) क्षेत्रबाट आउने भिजिटिङ चिकित्सक टोलीद्वारा तिब्बती परम्परागत चिकित्सा (TTM) सेवा प्रदान गरिनेछ। तिब्बती परम्परागत औषधि र उपचार पद्धति हिमाली भेगका नागरिकका लागि प्रभावकारी हुने विश्वास आयोजकले लिएको छ।

यसैगरी **सम्झना ल्याबोरेटरी प्रा.लि.**को सहकार्यमा रगत परीक्षण (हेपाटाइटिस बी र सी, सुगर) तथा पिसाब जाँच सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ, जसले रोगको प्रारम्भिक पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषज्ञ सेवाअन्तर्गत डा. मिलन महर्जनबाट नाक, कान र घाँटी (ENT), डा. सर्वोत्तम श्रेष्ठबाट नशा सम्बन्धी (Neurology), डा. प्रमोद देवकोटाबाट हाड–जोर्नी दुखाइ (Orthopaedic) तथा डा. रश्मी महर्जनबाट स्त्रीरोग (Gynaecology) सम्बन्धी सेवा प्रदान गरिनेछ। स्त्रीरोग सेवा भने वडा नं. ३ ड्राइपोर्टमा सञ्चालन नहुने जनाइएको छ।

शिविरका समन्वयकर्ता तथा स्थानीय समाजसेवी आङछिरि शेर्पाले भोटेकोशी गाउँपालिकामा पहिलो पटक तिब्बती, पश्चिमी र नेपाली चिकित्सकहरूको संयुक्त उपस्थितिमा स्वास्थ्य सेवा उपलब्ध हुन लागेको उल्लेख गर्दै यस शिविरले हिमाली भेगका नागरिकलाई ठूलो लाभ पुग्ने बताउनुभयो। उहाँले सबै स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन आग्रह गर्नुभएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार