अध्यक्ष वलीको नेतृत्वमा खानेपानी संस्थाहरूको करमुक्त घोषणा र विद्युत छुटको माग
काठमाडौँ ।
Advertisement 1

नेपालका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले अध्यक्ष खेमराज वलीको नेतृत्वमा सरकारसँग करमुक्त घोषणा र विद्युत महसुलमा छुटसम्बन्धी मागसहित ज्ञापनपत्र बुझाएका छन्। अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको ज्ञापनपत्रमा मुनाफारहित सामाजिक सेवामूलक संस्थाहरूले राज्यको मौलिक जिम्मेवारी वहन गर्दै आएको भए पनि पछिल्ला कर तथा महसुल सम्बन्धी कानुनी प्रावधानले अत्यधिक आर्थिक बोझ पारेको उल्लेख छ।
Advertisement 2
महासंघका अनुसार जलश्रोत ऐनअन्तर्गत दर्ता भएका खानेपानी संस्थालाई दिइँदै आएको कर छुट आर्थिक विधेयक २०८१/८२ बाट हटाइएपछि देशभरका आयोजनामा थप आर्थिक दबाब सिर्जना भएको छ। जलस्रोत सुक्दै गएका कारण अधिकांश क्षेत्रमा पम्पिङमा निर्भरता बढिरहेको र त्यसका कारण विद्युत खर्च अत्यधिक बढेको भन्दै अध्यक्ष वलीले विद्युत महसुलमा कम्तीमा ५० प्रतिशतसम्म छुट लागू गर्न माग गरे। विद्युतमा छुट नदिए सेवा निरन्तरता नै जोखिममा पर्ने उनले अर्थमन्त्रीलाई जानकारी गराएका छन्।
त्यसैगरी नगर विकास कोषबाट लिइने २५ प्रतिशत ऋणमा ५ प्रतिशत ब्याजदर अत्यधिक भएकाले ब्याज घटाउने व्यवस्था मिलाउन, विगतमा खारेज गरिएका संघीय खानेपानी कार्यालयका सेवा पुनः निरन्तर गर्न, जोखिमबीमा व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा NWASH सफ्टवेयरमार्फत तीनै तहका सरकारलाई जवाफदेही बनाउने प्रणाली बलियो बनाउन माग गरिएको छ।
Advertisement 3

“जनताको पानी, सरकारको लगानी” मूल भावनालाई व्यवहारमा उतार्दै खानेपानी तथा सरसफाइ सेवा दिगो र सहज बनाउन करमुक्त घोषणा अनिवार्य रहेको महासंघले स्पष्ट पारेको छ।
ज्ञापनपत्र बुझेपछि अर्थमन्त्रीले उठाइएका मागहरू व्यावहारिक र सम्बद्ध पक्षसँग छलफलयोग्य रहेको भन्दै ५० प्रतिशतसम्म छुटको प्रस्तावलाई कार्यान्वयन दिशामा लैजाने प्रतिवद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्