२०८२ कार्तिक ११ मंगलवार
नेपाली समय

आत्मसमिक्षाबाट आत्मविश्वाससम्म: अब मिलेर नेपाल बनाऔं

३ दिन अगाडि

“सबैको जीत हुने राजनीति: समृद्ध नेपालतर्फको साझा प्रतिबद्धता”

Advertisement 1

रबिन्स शर्मा, नेता – नेपाली काँग्रेस

काठमाडौ कात्तिक ८: २०४६ सालको जनआन्दोलनपछि नेपाली जनताले ठूलो आशा र उत्साहका साथ २०४७ सालको संविधानलाई आत्मसात् गरे। दशकौँको निरङ्कुशता अन्त्य गरेर जनताको हातमा अधिकार सुम्पिएको त्यो क्षण वास्तवमै ऐतिहासिक थियो। तर, जनताले त्यो संविधानबाट पूर्ण उपलब्धिको अनुभूति गर्न नपाउँदै, २०५२ सालमा माओवादी द्वन्द्व सुरु भयो। देशले फेरि रक्तपात, विस्थापन, भय र अनिश्चितताको काल देख्न बाध्य भयो।

त्यो दशक लामो सशस्त्र द्वन्द्वपछि २०६२/०६३ सालमा माओवादीसहितको दोस्रो जनआन्दोलन भयो। फेरि एकपटक जनताले परिवर्तनको आकांक्षामा सडकमा उत्रिए, र त्यसले नयाँ इतिहासको ढोका खोलेर देशलाई गणतन्त्रमा पुर्‍यायो। यसपटक जनताको आवाज संविधानसभामार्फत संस्थागत हुने विश्वास गरियो। दुई पटक संविधानसभा निर्वाचन भयो, जनताका प्रतिनिधिहरूले लामो रस्साकस्सी र बहसपछि अन्ततः २०७२ सालमा नयाँ संविधान बनाएका थिए—जनताको अधिकार, समानता र समृद्धिको सपनालाई कानुनी आधार दिनका लागि।

Advertisement 3

तर दुर्भाग्यवश, यस संविधानले परिकल्पना गरेको राज्यको राजनीतिक, प्रशासनिक र संरचनागत अभ्यास जनताले आलोचनात्मक रूपमा बाहेक आत्मसात् गर्न सकेका छैनन्। संविधान कागजमा सीमित भइरह्यो, जबकि यसको भावना र आत्मा प्रशासनिक कार्यशैली, नीति, र नेतृत्वमा परिलक्षित हुन सकेन। परिणामतः निराशा, विभाजन र अविश्वास पुनः बढ्दै गइरहेको छ।

अब प्रश्न उठ्छ—समस्या नेतामा मात्रै हो त? होइन। समस्या नीति, दृष्टिकोण र प्राथमिकतामा पनि छ। त्यसैले अब समय आएको छ, नेता मात्र होइन, नीति पनि फेरौं। एज मात्र होइन, एजेण्डा पनि हेरौं।

हामी बारम्बार व्यक्ति बदल्ने तर सोच, दृष्टिकोण र नीति नबदल्ने गल्ती दोहोर्याइरहेका छौं। जसले देशलाई अघि बढाउन सक्ने ऊर्जावान युवा निराश छन्। राजनीतिक दलहरू आन्तरिक संघर्ष, विभाजन र अविश्वासका जालमा फसेका छन्। जबकि, देशले आज चाहिरहेको छ—एक स्पष्ट बाटो, साझा दृष्टि र एकजुट कार्यदिशा।

अब ढिलो नगरौं।
राजनीतिक दलका विधान र देशको संविधानबीच कहाँ कमजोरी छन्, त्यसको आत्मसमीक्षा गरौं। नीतिगत र कार्यगत तहमा देखिएका कमी–कमजोरी पहिचान गरौं। राष्ट्रिय शक्तिहरूको सम्मानपूर्वक परिचालन गरौं। यो देश केवल नेताहरूको होइन—सबै नेपालीको साझा घर हो।

विदेशमा अवसरको खोजीमा पलायन भएका युवाहरूको मनमा ‘नेपालमा भविष्य छैन’ भन्ने निराशा बसिसकेको छ। तर यही समयमा देशभित्र बसेर “हामी नेपाल सपार्छौं” भन्ने आत्मविश्वासका आवाज पनि उठिरहेका छन्। उनीहरूलाई सम्मान गरौं, समर्थन गरौं, र राष्ट्रिय पुनर्निर्माणको यात्रामा सहभागी बनाऔं।

हामीले बुझ्नुपर्छ—देश विकास कसैले बाहिरबाट आउँदैन।
समृद्धि आयात गरेर ल्याइँदैन।
देश निर्माणको जिम्मेवारी बाह्य शक्ति होइन, हाम्रै काँधमा छ।

त्यसैले अब हामी सबै मिलेर, मतभेद होइन, साझा हितका आधारमा अघि बढौं।
वाद–प्रतिवाद, तर्क–वितर्क, आरोप–प्रत्यारोप र कसैको जीत वा हारमा होइन, सबैको जित, सबैको आत्मसम्मान र साझा गौरव हुने मार्ग रोजौं।

हाम्रो राजनीति केवल सत्ताको खेल नहोस्—सेवाको माध्यम बनोस्।
हाम्रो लोकतन्त्र केवल चुनाव जित्ने अभ्यास नहोस्—जनताको जीवनमा सुधार ल्याउने संयन्त्र बनोस्।
हाम्रो संविधान केवल किताबमा नहोस्—व्यवहारमा जिउने दस्तावेज बनोस्।

अब हामीले सोच बदल्न जरुरी छ।
अब हाम्रा दलहरू, हाम्रा नेताहरू र हामी सबैले एकै स्वरमा भन्नुपर्छ—
“यो देश हाम्रै हो, यसको निर्माणको गहन जिम्मेवारी पनि हाम्रै हो।”

अब कसैलाई दोष दिएर होइन, आफ्नै जिम्मेवारी लिएर अघि बढ्ने समय आएको छ।
देश बनाउने हातहरू, सोचहरू र सपनाहरू जोडौं।
आशा जगाऔं, विश्वास जगाऔं, र सहकार्यका हातहरू मिलाऔं।

नेपाल सम्भव छ — यदि हामी सबै मिलेर चल्ने हो भने।
अब नयाँ सोच, नयाँ नीति, र नयाँ प्रतिबद्धतासँग अघि बढौं।
सबै नेपालीले गर्व गर्न सक्ने, सबको सम्मान हुने, सबको भविष्य सुरक्षित हुने—समृद्ध नेपाल निर्माणका लागि हातेमालो गरौं।

✍️ रबिन्स शर्मा
नेता, नेपाली काँग्रेस

धेरै पढिएको

सम्बन्धित समाचार