क्यौरानीमा युवाको साझा संकल्प : “क्यौरानी युवा समाज” गठन, गाउँ विकासका लागि नयाँ यात्रा सुरु
Advertisement 1

मेलम्ची नगरपालिका–८ क्यौरानीका युवाहरूले गाउँको समग्र विकास, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यसहित “क्यौरानी युवा समाज” गठन गरेका छन्। करिब ५० जना युवाको उत्साही सहभागितामा सम्पन्न भेलाले गैरराजनीतिक, समावेशी र सहकार्यमा आधारित संस्थाको रूपमा समाजलाई अघि बढाउने निर्णय गरेको हो।
Advertisement 2
क्यौरानीका युवाहरू लामो समयदेखि गाउँमा सशक्त र साझा मञ्चको आवश्यकता महसुस गर्दै आएका थिए। विकासका कुरा धेरैपटक छलफल भए पनि त्यसलाई कार्यान्वयन गर्ने बलियो प्लेटफर्म नहुँदा योजना अधुरै रहने स्थिति थियो। यही पृष्ठभूमिमा स्थानीय युवाहरू एक ठाउँ भेला भए—उद्देश्य थियो, क्यौरानीको विकास आफ्नै हातले सुरु गर्ने।
नवगठित क्यौरानी युवा समाजका सचिव बटुकराज गिरीले बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, “यो संस्था गाउँ र समुदायको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छ। हामी सबैलाई समेट्दै, सहकार्य र पारस्परिक समझदारीका माध्यमबाट क्यौरानीको समग्र उत्थानका लागि अघि बढ्ने विश्वास गर्छौं।” उहाँका अनुसार, युवाहरूले अब केवल हेर्ने होइन, सोच्ने र काम गरेर देखाउने समय आएको छ।
त्यसैगरी संयोजक दिनेश गिरीले भन्नुभयो, “क्यौरानी अब नयाँ यात्राको थालनीमा उभिएको छ। हाम्रो समाजमा विविधता र क्षमता छ—त्यो एकै दिशामा केन्द्रित गर्न सकियो भने विकास सम्भव छ। राजनीतिक विभाजन होइन, एकताको बाटोले मात्र हाम्रो गाउँलाई समृद्ध बनाउँछ।”
त्यस्तै सह–संयोजक सुवास गिरीका भनाइमा, “क्यौरानी युवा समाज सबै समुदाय र भेगका आवाजलाई सुन्ने र प्रतिनिधित्व दिलाउने साझा मञ्च हुनेछ। अब विकास र रुपान्तरणको जिम्मेवारी युवाले नै लिनुपर्छ। हामी समस्याको कुरा मात्र होइन, समाधानका उपाय पनि प्रस्तुत गर्न तयार छौं।”
अध्यक्ष विकास गिरीले जोड दिनुभयो, “हामी विरोधका लागि होइन, निर्माणका लागि एकजुट भएका हौं। हाम्रो प्राथमिकता शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद र यातायातको सुधार हो। आगामी महिनाहरूमा शैक्षिक सहयोग, स्वास्थ्य सचेतना, खेलकुद प्रवर्द्धन र स्वरोजगार तालिमजस्ता कार्यक्रम सञ्चालन गर्ने योजना छ।”

Advertisement 3
संस्थाको प्रारम्भिक संरचना यसरी तय गरिएको छ— संयोजन समितिमा दिनेश गिरी संयोजक, सुवास गिरी सह–संयोजक र चुलानाथ गिरी, उद्वव कोईराला तथा रामशरण गिरी सदस्य रहेका छन्। तदर्थ समितिमा विकास गिरी अध्यक्ष, हरिशरण गिरी उपाध्यक्ष, बटुकराज गिरी सचिव, निरज चापागाईं कोषाध्यक्ष, युवराज गिरी सह–कोषाध्यक्ष र शिमोनराज गिरी, ईश्वर गिरी, बिष्णु गिरी, राजेन्द्र गिरी, राजकुमार गिरी, इन्द्र गिरी, दिपेश गिरी, दीपेन्द्र गिरी, नवीन गिरी र रबिन कोइराला सदस्य छन्। खेलकुद उपसमितिको संयोजकमा रवि कुमार श्रेष्ठ, सह–संयोजकमा दिपेन्द्र गिरी र सदस्यमा यमनाथ गिरी चयन भएका छन्।
बैठकमा सहभागी युवाहरूले हालैको “जेनजी आन्दोलन”ले युवामा जिम्मेवारीको भावना जगाएको र त्यसले समाजमा सकारात्मक सोच भर्न प्रेरित गरेको उल्लेख गरे। उनीहरूको भनाइमा, युवा पुस्ताले देश र गाउँ दुबै ठाउँमा परिवर्तनको नेतृत्व गर्नुपर्छ।
सहभागी युवाहरूले यस्ता सचेत र सक्रिय युवाहरूले हातेमालो गर्दै बनाएको संस्था अब क्यौरानीमा विकासको नयाँ अध्याय लेख्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार, यस्तो पहलले गाउँमा शिक्षा, स्वास्थ्य, सडक, रोजगार र संस्कृतिमा ठोस प्रभाव पार्नेछ।
“क्यौरानीको उज्यालो भविष्य: विकास, सद्भाव र सांस्कृतिक पहिचान” भन्ने नारा बोकेको क्यौरानी युवा समाजले आफ्नो पहिलो कदममै स्पष्ट सन्देश दिएको छ — विकास अब कसैको प्रतीक्षामा होइन, आफ्नै पहलबाट सम्भव छ।
एकता, प्रतिबद्धता र सहकार्यका यी भावनाले भरिएको “क्यौरानी युवा समाज” अब गाउँका हरेक गल्लीमा ऊर्जा, आशा र सम्भावनाको नयाँ यात्रा सुरु गर्न तयार भएको छ।


प्रतिक्रिया दिनुहोस्