गोकर्णेश्वर लाइट एकेडेमीमा तिहारको उज्यालो : देउसी–भैलोले झिलिमिलायो मन र माहोल
Advertisement 1

काठमाडौं, तिहारको रंगीन रौनकसँगै गोकर्णेश्वर लाइट एकेडेमी आज साँझ झिलिमिली बत्ती, संगीत र हास्य–खुसीले भरिएको थियो। विद्यालयले असोज ३१ गते विशेष देउसी–भैलो सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना गर्दै तिहारको उल्लासमय वातावरणलाई विद्यालय परिसरमै उतारेको थियो।
Advertisement 2
कार्यक्रमलाई अन्तर–सदन प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो, जहाँ विभिन्न सदनका विद्यार्थीहरूले देउसी–भैलो, नृत्य, गीत र लघु नाट्य प्रस्तुति मार्फत नेपाली संस्कृतिको विविधता, एकता र सिर्जनशीलताको सुन्दर झल्को प्रस्तुत गरे।
विशेष आकर्षणका रूपमा कक्षा १० का विद्यार्थीहरूको उत्कृष्ट देउसी प्रस्तुतिले उपस्थित सबैको मन जित्यो।
कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक सौर्यनाथ आचार्यले विद्यार्थीहरूमा संस्कृतिप्रतिको प्रेम, सहकार्य र सिर्जनशीलता विकास गर्न यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यार्थीहरूको उत्साहको प्रशंसा गर्नुभयो।
Advertisement 3
कार्यक्रमको सञ्चालन विद्यार्थी परिषद् (Student Council) की उपाध्यक्ष मेधावी पाण्डेले सजीव र मनमोहक शैलीमा गर्नुभयो भने कार्यक्रमका समन्वयक राज घिमिरे र को–अर्डिनेटर सन्जय खनालको सक्रिय सहयोगले कार्यक्रमलाई थप प्रभावकारी र अनुकरणीय बनाएको अभिभावक र शिक्षकहरूले प्रशंसा गरे।

निर्णायक मण्डलमा अनिल तामाङ र सुरज तामाङ रहनुहुन्थ्यो, जसले निष्पक्ष मूल्याङ्कन गर्दै उत्कृष्ट टोलीहरूलाई विजेता घोषणा गर्नुभयो।
विजेताहरूलाई विद्यालयले ट्रफी र सम्मानपत्र प्रदान गर्दै उनीहरूको प्रतिभा र परिश्रमको उच्च सम्मान गरेको थियो।
कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रह्यो। विद्यालय प्राङ्गण बत्तीका झिलिमिली, देउसी–भैलोको ताल र बालबालिकाका मुस्कानले भरिँदा त्यो साँझ साँच्चिकै उज्यालो र अविस्मरणीय बन्यो।
त्यो साँझ, गोकर्णेश्वर लाइट एकेडेमीमा केवल बत्तीको उज्यालो मात्र होइन, संस्कृतिको आत्मा, एकताको भावना र सिर्जनशीलताको ज्योति पनि उज्यालिएको अनुभूति सबैले गरे।


प्रतिक्रिया दिनुहोस्